Wed. May 8th, 2024

उर्लावारीका प्रविण बास्तोला मृत्यु प्रकरणमा सरकारी वकिलको कार्यालयद्वारा ६ जना विरूद्ध मुद्दा दर्ता

काठमाडौं, २०७७ फागुन १२ गते बुधबार

मोरङको उर्लाबारी नगरपालिका-५ का ३२ वर्षिय प्रविण बास्तोलाको रहस्यम तरिकाले मृत्यु भएको घटनामा सरकारी वकिलको कार्यालयले ६ जना विरूद्ध ‘कर्तब्य ज्यान’ मुद्दामा अदालतमा अभियोग दर्ता गरेको छ ।

सरकारी वकिलको कार्यालयले पक्राउ परेका दुई जना र फरार भएका ४ जना सहित ६ जना विरूद्ध कर्तब्य ज्यान मुद्दामा मोरङ अदालतमा अभियोग दर्ता गरेको हो । प्रहरीले पक्राउ गरेको होटल संचालक उर्लावारी नगरपालिका ९ का ३४ वर्षिय कुमार राई र प्रविणका साथी मोरङ्ग रतुवामाई नगरपालिका-१० पवित्रा चोकका २९ वर्षिय रिकेश सिवा भन्ने मेहरमान दर्र्जिसहित अन्य चार जनालाई फरार प्रतिवादी बनाएर मंगलबार अभियोग दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधीवक्ता मनोजकुमार आचार्यले जानकारी दिनुभयो ।

सोही मुद्दामा प्रविणका साथीहरू उर्लावारी नगरपालिका-६, प्रगति टोलका १९ वर्षिय सुदिप परियार, सोही ठाउँका ३२ वर्षिय राजेश रणपहेली, झापाको गौरादह नगरपालिका-९ का ३१ वर्षिय दिपेश पौडेल र प्रविण शव भेटिएको घरधनी उर्लावारी-६ फिल्म हल छेउका ६० वर्षिय रमेश गिरीलाई फरार प्रतिवादी बनाएर अभियोग दर्ता भएको हो ।

अदालतमा अभियोग दर्ता भएपछि पक्राउ परेका होटल संचालक राई र दर्जीको बयान सकिएको मोरङ जिल्ला अदालतका स्रेस्तेदार राजकुमार दाहालले जानकारी दिनुभयो ।

प्रतिवादीहरूको बयान सकिएकोले बिहीबार थुनछेक बहस हुने स्रेस्तेदार दाहालले बताउनु भयो । प्रहरीले लापरवाहीहिपूर्ण रूपमा अनुसन्धान गरेको भन्दै मृतकका आफन्त र स्थानिय आन्दोलित भएका थिए । शंकास्पद रूपमा मृत्यु भएको घटनामा प्रहरीको अनुसन्धान प्रतिवेदन (मिसिल) मा अर्कैको फोटो परेको भन्दै उनीहरूले ईलाका प्रहरी कार्यालय उर्लाबारी, जिल्ला सरकारी वकिलको कार्यालय घेराउ गरेका थिए ।

मृतकका आफन्त र परिवारलाई मुद्दा दर्ता गर्ने र अनुसन्धान संलग्न प्रहरीले लापरबाही गरेको भेटिए कारवाहीको दायरमा ल्याउने विश्वास बनाएपछि आन्दोलन साम्य भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्काले घटनामा संलग्न दुई जना प्रतिवादीलाई पक्राउ गरि अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको जानकारी दिनुभयो । यस घटनाको अनुसन्धानमा संलग्न प्रहरीले घटनामा लापरबाही गरेको पाइए कारवाहीको दायरमा ल्याउने उहाँले बताउनु भयो ।

बास्तोलाको शव पुस ५ गते स्थानीय गोदाबरी अस्पतालमा परिवारजनले फेला पारेका थिए । उर्लाबारी ४ स्थित रमेश गिरीको घरमा डेरा गरी बस्दै आएका रिकेश शिवा भन्ने मेहरमान दर्जीले प्रवीणलाई पुस ४ गते फोन गरेर बोलाएका थिए । शिवा, दिपेश पौडेल, राजेश रणपहेलीसँगै प्रवीणले उर्लाबारीको पूर्वपट्टीको बसपार्क नजिकको सौरबी होटलमा रक्सी खाएर सबै जनासँगै शिवाको डेरामा सुत्न गएका थिए । तर प्रवीणको राति नै मृत्यु भएको र त्यसको जानकारी परिवारजनलाई बिहान ११ बजेमात्रै गराइएको थियो ।

प्रहरीले घटनाको भोलिपल्ट नै पक्राउ गरेका शिवा, दिपेश पौडेल, राजेश रणपहेलीलगायत माथि अभद्र व्यवहारको मुद्दा चलाएर अनुसन्धान थालेको थियो । तर उनीहरुलाई फागुन २ गते छाडिदिएकाले परिवारजनले न्याय नपाउने आशंकाले खोजीनीति गर्न थालेका थिए । त्यही क्रममा आइतबार इलाका प्रहरीमा बुझ्न जाँदा अनुसन्धान गरिएको फायलमा मृतकको फर्जी फोटो भेटाएपछि परिवारजन आक्रोशित भएका थिए । प्रहरीले अनुसन्धानपछि फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको तर त्यहाँबाट मृत्यु कारण खुलाइ पठाउन फायल फिर्ता गरिदिएको थियो । घटनामा जिल्ला प्रहरी मोरङले प्रहरी नायब उपरीक्षक मानबहादुर राईको नेतृत्वमा छानबिन टोली गठन गरी अनुसन्धान गरिरहेको खवर कान्तिपुरले लेखेको छ ।

Facebook Comments