Sat. May 18th, 2024

सर्वोच्चको फैसला प्रशंसनीय र ऐतिहासिक : माधवकुमार नेपाल

काठमाडौं, २०७७ फागुन ११ गते मंगलबार

नेकपा (दाहाल-नेपाल समूह)का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुर्नस्थापना गर्ने फैसला गरेर अदालतको गरिमालाई बढाएको बताउनु भएको छ । नेपालले प्रधानमन्त्रीको कदमलाई बदर गर्ने निर्णय गरेर अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला गरेको बताउनु भयो ।

‘सर्वोच्च अदालतको गरिमालाई बढाएको छ । प्रधानन्यायाधीशलगायत सबै न्यायाधीशज्यूहरुको पनि इज्जत र प्रतिष्ठा बढाएको छ । आम नेपाली जनताको चाहनाबमोजिम संविधानको प्रावधान, मूल्य र मान्यता, त्यसको व्याख्यालाई उहाँहरुले सहि ढंगले अगाडि सार्ने काम गर्नुभएको छ,’ नेपालले भन्नुभयो, ‘यो अत्यन्तै प्रशंसनिय काम भएको छ । सम्पूर्ण नेपाली जनता, राजनीतिक दलहरु जो आन्दोलनमा उत्रीनु भएको थियो, नागरिक समाज, मिडिया, समाजका सबै वर्ग तहका जनतालाई धन्यवाद दिन चाहन्छु नेकपाको तर्फबाट । यसमा म अत्यन्तै खुशी व्यक्त गर्दछु ।’

कान्तिपुर अनलाईनका अनुसार अध्यक्ष नेपालले अब प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा रहेका दलहरुको संयुक्त सरकार बनाएर अगाडि बढ्ने बताउनु भयो । ‘जति पनि पार्टीहरु केपी ओलीको विरुद्धमा हुनुहुन्छ उहाँहरुसमेत बसेर कसरी जाने निर्णय गर्छौं । यसबीचमा हामीले दिएको वाचाअनुसार नै संयुक्त सरकार बन्ने छ । संयुक्त सरकारको आडमा अगाडि बढ्छौं,’ उहाँले भन्नुभयो ।

 

Facebook Comments