Sun. May 19th, 2024

मुख्यमन्त्री पौडेलद्वारा एकीकृत नमूना बस्ती उद्घाटन

काठमाडौं, २०७७ माघ २४ गते शनिबार

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले रामेछापमा निर्माण भएको एकीकृत नमूना बस्तीको आज उद्घाटन गर्नुभएको छ ।

रामेछापको खाँडादेवी गाउँपालिका-३ भिरपानीस्थित डफ्काको माझी गाउँमा निर्माण भएको एकीकृत नमुना बस्तीको उहाँले आज एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।

एकीकृत नमुना बस्तीको उदघाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले जनताको सुरक्षित आवासका लागि प्रदेश सरकारले एकीकृत बस्ती विकास, जनता आवास, खरको छानो मुक्त कार्यक्रममार्फत काम गरिरहेको बताउनुभएको छ ।

उहाँले प्रदेश सरकार आवास विहीन नागरिकहरुलाई व्यवस्थित आवासको व्यवस्था गर्न हरदम लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले एकीकृत पर्यटकीय बस्ती निर्माणसँगै डब्खाका सीमान्कृत माझी समुदायको जीवनस्तर उकास्न सहयोग पुग्ने बताउनुभयो ।

उहाँले एकीकृत बस्तीमा होमस्टे सञ्चालन गरेर आर्थिक उपार्जन गर्न सकिने भन्दै एकीकृत वस्ती विकासको अवधारणलाई आगामी दिनमा समेत जोड दिनुपर्ने बताउनुभयो ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेल, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको पहलमा नमूना बस्ती समुदायलाई हस्तान्तरण गरिएको हो ।

बस्ती निर्माणका लागि बागमती प्रदेश सरकारले डेढ करोड र गाउँपालिकाले ७५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

एकीकृत बस्तीमा हाल ४२ वटा २ कोठे घर निर्माण भएका छन् । बस्ती निर्माणको लागि स्थानीय माझी समुदायले २६ रोपनी जग्गा उपलब्ध गराएका थिए ।

कार्यक्रममा खाँडदेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले जिल्लामै पहिलो एकीकृत नमूना बस्ती निर्माण हुनु खुसीको विषय भएको बताउनुभएको छ ।

बस्तीभित्र ४२ वटा घरहरुसहित चिल्डेनपार्क, टावर, सभा हल, स्विमिङ पुललगायतका पूर्वाधार निर्माण हुने छ । एकीकृत वस्तीमा सामुदायिक भवन, खेल मैदान लगायतका संरचना भने निर्माण गरिएको छ ।

गाउँपालिकाले एकीकृत बस्तीलाई होमस्टेको रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।  रेडियो नेपाल

Facebook Comments