उदाउँदो सूर्यलाई अघ्र्य दिंदै भव्य रुपमा छठ पर्व सम्पन्न
फोटो सर्वाधिकार: रमेश हतुवाली
रमेश हतुवाली/विराटनगर । आज विहान उदाउँदो सूर्यलाई अघ्र्य दिंदै तराई-मधेस लगायत देशका विभिन्न भागमा छठपर्व भव्य रुपमा सम्पन्न गरिएको छ ।

छठ पर्वको अधिल्लो दिन वेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिईने र त्यसको भोली पल्ट उदाउँदो सूर्यलाई अघ्र्य दिएर व्रत सम्पन्न गर्ने परम्परा अनुसार मानिसहरु आज विहान सूर्योेदय हुनुभन्दा निक्कै अघि जलासय तर्फ लागिरहेको दृश्य आज यत्रतत्र देखिन्थ्यो ।
विराटनगरको सिंगिया खोला, जनकपुरको जनकपुरधाम, सुनसरीको सुन्सरी खोला, झापाको मेची र माईनदी, राजविराज, वीरगञ्जको घडिअर्वा पोखरी, नेपालगञ्ज, महेन्द्रनगर, पोखराको फेवातालक्षेत्र लगायत देशभरका नदी, खोला, तालतलैया, पोखरी र नहरका किनाराहरुमा आज लाखौं भक्तजनहरुको घुईचो रहेको थियो ।

श्रद्धालु भक्तजन, ब्रतालु तथा स्थानीयवासीहरु बिहान ३ वजेदेखि नै केरा, उखु, नरिवल, मुला, बेसार, ठेकुवा, भोगटे, अदुवा लगायतका विभिन्न पूजा सामग्रीहरु बोकेर नदी किनारा र घाटहरुमा जाँदै गरेको दृश्य देख्न पाईन्थ्यो ।
सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रोपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । पाण्डवहरू मिथिलाको विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको भन्ने भनाइ छ ।

सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको जनविश्वास रहेको छ ।

