भीमफेदी दुर्घटनाः चार जना मृतकको पहिचान खुल्यो
हेटौँडा । यात्रुबाहक विद्युतीय गाडी (इभी) दुर्घटनामा मृत्यु भएकामध्ये चार जनाको पहिचान खुलेको छ । दुर्घटनामा परी १० जनाको निधन भएको छ ।
दुर्घटनामा घाइते भएका छ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित चिसापानीगढीमा आज बिहान इभी दुर्घटनामा परेको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार मृत्यु हुनेमा गाडीका चालक सर्लाहीको कविलासी नगरपालिका-८ का करिब ३० वर्षीय रविशङ्कर कुमार मण्डल, सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरका चार वर्षीया दीपिका यादव, नौ वर्षीया शिक्षा यादव र विकेश यादव छन् । अन्य छ मृतकको पहिचान खुल्न बाँकी छ ।
काठमाण्डूबाट सर्लाहीतर्फ आउँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०८८० नम्बरको इभी बिहान करिब ५ः४५ बजे भीमफेदी-कुलेखानी-काठमाण्डू सडकखण्डबाट करिब ५०० मिटर तल भिरमा खसेको थियो ।
घाइते हुनेमा ३३ वर्षीय मुकेश यादव, १६ महिनाका सुदीप यादव, २६ वर्षीय देवेन्द्र यादव, १२ वर्षीय सक्षम यादव, आठ वर्षीय सुदीप यादव र बच्चु भनिने देवेन्द्र राय रहेका छन् ।
अस्पतालमा उपचाररत मुकेश यादवका अनुसार उनीहरू छठ पर्व मनाउन ललितपुरको टीकाथलीबाट सर्लाही जाँदै थिए । गाडीमा सवार अधिकांश यात्रु एउटै गाउँका छिमेकी तथा आफन्त रहेको उहाँले बताउनुभयो ।
दुर्घटनाको कारण यकिन नभए पनि चालकले पर्याप्त आराम गर्न नपाएको हुन सक्ने अनुमान गरिएको छ ।
यसैबीच, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले भीमफेदी-देउराली सडकखण्डमा एक वर्षभित्र तीनवटा ठूला दुर्घटना भएको उल्लेख गर्दै सडक सुरक्षामा तत्काल सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले घुम्तीमा राखिने ऐना, ट्राफिक सङ्केतलगायत सुरक्षा संरचनाको अभाव रहेको औँल्याउँदै आवश्यक सुधारका लागि बागमती प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेको जानकारी दिनुभयो ।रासस

