माईखोलाको बगरमा बदामखेती
झापा । सानो माईखोलामा गत वर्षको बाढीले झापा गाउँपालिका–१ का ६५ वर्षीय राजु अग्रवालको दुई बिगाहा उर्वर धानखेत बगायो । बगर बनेको खेत हेर्दै के गर्ने होला भन्ने चिन्तामा पर्नुभएका अग्रवालले एउटा जुक्ति निकाल्नुभयो-केही नयाँ खेती गर्ने । निराशालाई आशामा बदल्दै त्यही सुरु भयो बदामखेती ।
बगर खेतमा अहिले २० क्विन्टल बदाम फलेपछि अग्रवाल उत्साही हुनुभएको छ । बजारमा उहाँले फलाएको बदाम प्रतिकेजी रु १०४ का दरले बिक्री भइरहेको छ । “धान फल्ने खेत बालुवाको बगर बनेपछि दुःख लाग्नु स्वाभाविकै थियो,” उहाँले बदामखेतीको सङ्घर्षको कथा सुनाउँदै भन्नुभयो, “बाढीको कहरबाट म स्तब्ध भएँ, तर बिचलित भइनँ । कुन खेती गर्न सकिन्छ भनेर सोधीखोजी गर्न थाले । बदाम फल्छ भन्ने थाहा पाएपछि म उत्साहका साथ नयाँ खेतीमा जुटेँ ।”
उहाँले भारतीय बजारबाट १० केजी बदामको बीउ ल्याएर सुरुमा पाँच कट्ठा क्षेत्रफलमा बदामको परीक्षण खेती गर्नुभएको थियो । बाली सप्रिएपछि उत्साहित बन्नुभएका अग्रवालले हाल खेतीको क्षेत्रफल बढाएर दुई बिगाहा पु¥याउनु भएको छ ।
पहाडी क्षेत्रमा हुँदै आएको बदामखेती झापा जस्तो तराई क्षेत्रमा फस्टाउनु अनौठो भएको छ । तर, कृषि प्राविधिकहरुले तराई क्षेत्रमा बदाम फल्छ भनेर दिएको सल्लाहलाई उहाँले परीक्षणबाटै साबित गर्नुभयो ।
धान वा अन्य परम्परागत बालीभन्दा बदामखेतीबाट राम्रो फाइदा लिन सकिने उहाँको अनुभव छ । जेठ महिनामा रोपिएको बदाम कात्तिक महिनामा फलेपछि उहाँलाई अहिले बाली भित्र्याउने चटारो छ । बदाम लहरे बाली हो । उहाँले यसपटक बदाम बिक्री गरेर राम्रो आम्दानी हुने बताउनुभयो ।
खुकुलो, हलुका र बलौटे–दोमट माटो भएकाले तराईको न्यानो मौसम बदाम उत्पादनका लागि उपयुक्त मानिने झापा गाउँपालिकाका कृषि प्राविधिक रीता बर्देवाले बताउनुभयो । स्वादका लागि मात्र नभई स्वास्थ्यका दृष्टिकोणले बदाम अति नै गुणकारी मानिन्छ । रासस)

