Fri. Sep 20th, 2024

तल्लो अरुण जलविद्युत् आयोजना पनि भारतीय कम्पनी सतलजलाई, नेपालले २१ प्रतिशत विद्युत् निःशुल्क पाउने

काठमाडौं, २०७७ माघ १९ गते सोमबार

६ सय ७९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाबाट नेपालले २१ प्रतिशत विद्युत् निःशुल्क पाउने भएको छ । लगानी बोर्ड बैठकले शुक्रबार राति आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी सतलजलाई दिने निर्णय गरेको थियो ।

यो कम्पनीले अहिले ९ सय मेगावाटको अरुण तेस्रो आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माणका लागि भारतीय कम्पनीसहित चिनियाँ कम्पनी प्रतिस्पर्धामा थियो । चिनियाँ कम्पनीले २५ प्रतिशत र भारतीय कम्पनीले २१ प्रतिशत विद्युत् निःशुल्क दिने प्रस्ताव राखेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले जानकारी दिनुभयो ।

‘निःशुल्क विद्युत् दिने मात्रै नभई अन्य मापदण्डका आधारमा मूल्यांकन भएको हो । भारतीय कम्पनी मूल्यांकनका हिसाबले पहिलो नम्बरमा थियो,’ उहाँले भन्नुभयो, ‘अघिल्ला ऊर्जामन्त्रीकै संयोजकत्वमा गठित मूल्यांकन समितिले तयार पारेको प्रतिवेदनका आधारमा बोर्ड बैठकले निर्णय गरेको हो ।’ तल्लो अरुण निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने निर्णय नियमित प्रक्रिया भएको मन्त्री रायमाझीले बताउनु भयो । ‘अरुण तेस्रोकै क्यास्केड आयोजना भएकाले तल्लो अरुण चिनियाँ कम्पनीलाई दिन उपयुक्त थिएन,’ उहाँले भन्नुभयो । संखुवासभा र भोजपुरमा निर्माण हुने यो आयोजनालाई सरकारले २०७५ चैतमा काठमाडौंमा गरेको लगानी सम्मेलनमा सोकेस परियोजनाका रूपमा राखेको थियो ।

आयोजना निर्माण गर्ने कम्पनीले कम्तीमा १५ प्रतिशत ऊर्जा निःशुल्क उपलब्ध गराउनुपर्ने सर्तसहित बोर्ड कार्यालयले प्रस्ताव मागेको थियो । आयोजना निर्माणमा इच्छा देखाएकामध्ये भारतको सतलज लिमिटेड, नेपालको हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्टसँग जेभी रहेको पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड तथा नेपालको ग्रिन रिसोर्ससँग जेभीमा जापानको इलेक्ट्रिक पावर डेभलपमेन्ट कम्पनी (जेपावर) नेपालसँग प्रस्ताव माग गर्ने निर्णय गरेको थियो ।

प्रस्ताव मागिएकामध्ये भारतीय कम्पनी सतलज र पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेडले मात्रै प्रस्ताव पेस गरेका थिए । दुवै कम्पनीबाट प्राप्त प्रस्ताव अध्ययन गरी मूल्यांकन गर्न बोर्ड कार्यालयले तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनको संयोजकत्वमा समिति गठन गरेको थियो । पुन संयोजकत्वको समितिले तयार पारेको प्रतिवेदन नै शुक्रबारको बैठकमा पेस गरिएको हो । सतलज लिमिटेड भारतको सरकारी स्वामित्व भएको कम्पनी हो । अरुण तेस्रोको तल्लो तटीय क्षेत्रमा तल्लो अरुण रहेको र दुवै आयोजना एउटै कम्पनीले निर्माण गर्दा लागत कम पर्ने भन्दै भारत सरकारले समेत आयोजनाको निर्माण जिम्मा सतलजलाई जिम्मा दिन माग गर्दै आएको थियो ।

आयोजना निर्माणका लागि १ अर्ब ३० करोड अमेरिकी डलर लाग्ने अनुमान छ । कान्तिपुर

Facebook Comments