ढोरपाटनमा नाउर र झारल गणना गरिँदै, सिकारको कोटा फेरबदल हुन सक्ने
- ढोरपाटनका सातवटै सिकार ब्लकमा नाउर र झारलको गणना गरिने ।
- पछिल्लो गणनामा एक हजार २९० नाउर र ७४४ झारल भेटिएका थिए ।
- नयाँ गणनाको नतिजाका आधारमा सिकारको वार्षिक कोटा थपघट हुन सक्ने ।
बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा नाउर र झारलको गणना गरिने भएको छ । सिकारको कोटा निर्धारण गर्न आरक्षले प्रत्येक पाँच वर्षमा यी वन्यजन्तुको संख्या गणना गर्दै आएको छ ।
चालु आर्थिक वर्षको दोस्रो चौमासिक सुरु भएसँगै गणनाका लागि प्राविधिक तथा आरक्षका कर्मचारीलाई सातवटै सिकार ब्लकमा परिचालन गर्ने तयारी गरिएको छ ।
आरक्ष कार्यालयका अनुसार ‘टाउको गन्ने’ विधिबाट नाउर र झारलको गणना गरिनेछ । आरक्षअन्तर्गत सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सातवटा सिकार ब्लक छन् । ती सबै ब्लकमा गणना गरिनेछ ।
कोरोना महामारीका कारण नियमित पाँच वर्षमा हुनुपर्ने गणना एक वर्ष ढिलो गरी विसं २०७९ मा गरिएको थियो । त्यसबेला एक हजार २९० नाउर र ७४४ झारल फेला परेका थिए । गणनामा देखिएको नाउर र झारलको सङ्ख्या, उमेर तथा लिङ्ग संरचनाका आधारमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकारको वार्षिक कोटा निर्धारण गर्दै आएको छ ।

आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार हाल बर्सेनि १९ देखि २४ नाउर र १४ देखि १९ झारलको सिकार कोटा निर्धारण हुने गरेको छ । पछिल्लो गणनापछि नाउरको वार्षिक कोटा २० वटामा कायम गरिएको छ । “यसपटकको गणनापछि प्राप्त नतिजाका आधारमा सिकारको कोटा थपघट हुन सक्छ”, रेञ्जर सुवेदीले भन्नुभयो ।
गणनाबाट वयस्क नाउर र झारलको सङ्ख्या, भाले तथा पोथीको अनुपात र पाठापाठीको अवस्थासमेत यकिन गरिने उहाँले बताउनुभयो । गणनामा रेञ्जर, भरिया तथा सिकारसम्बन्धी अनुभव भएका स्थानीयवासी सहभागी हुनेछन् । नाउर र झारल बाख्रा प्रजातिमा पर्ने वन्यजन्तु हुन् । ढोरपाटनमा प्रत्येक वर्ष असोजदेखि मङ्सिर र फागुनदेखि वैशाखसम्म गरी दुई याममा वैधानिक सिकार खुला गरिँदै आएको छ ।

विगतका वर्षमा जस्तै यसपटक पनि चालु आर्थिक वर्षको पहिलो सिकार याम सुरु भइसकेको छ । यस याममा १० नाउर र सात झारलको सिकारका लागि कोटा निर्धारण गरिएको छ ।
आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार सिकारका लागि अनुमति पाएका विदेशी सिकारी नेपाल आउने क्रम सुरु भएको छ । अमेरिका, रुस, स्पेन, दक्षिण अफ्रिका, नर्वेलगायत मुलुकबाट व्यावसायिक सिकारी ढोरपाटन आउने गरेका छन् । ढोरपाटन वैधानिक सिकारका लागि विश्वमै परिचित गन्तव्य मानिँदै आएको छ । साहसिक यात्रा र सिकारको अनुभव लिन विदेशी सिकारी हेलिकप्टरमार्फत आरक्ष पुग्ने गरेका छन् । सिकारबाट प्राप्त राजस्व वन्यजन्तु संरक्षण तथा आरक्ष व्यवस्थापनको महत्वपूर्ण स्रोतका रूपमा रहँदै आएको छ । रासस

