Sun. May 19th, 2024

तारे होटलमा स्थानीय खाना अनिवार्य राख्नै पर्ने

काठमाडौं, २०७७ माघ १८ गते आईतबार

नेपालमा सञ्चालित तारे होटलहरूले अनिवार्य नेपाली रैथाने खाना उपलब्ध गराउनुपर्ने भएको छ ।

राजपत्रमा हालै प्रकाशित‘एकतारेदेखि पाँचतारे डिलक्ससम्मका होटलहरूको वर्गीकरण मापदण्ड’ले सबै किसिमका तारे होटलले मेनुमा कम्तीमा २५ प्रतिशत नेपाली रैथाने खानाका परिकार उपलब्ध हुने व्यवस्था गरेको हो ।

त्यस्तै एकतारेदेखि पाँचतारे सबै होटलले नेपालमा उत्पादित खाद्यवस्तुको प्रयोगलाई प्राथमिकता दिनुपर्ने मापदण्डमा उल्लेख छ ।

मापदण्डअनुसार चारतारे वा सोभन्दा माथिल्लो स्तरका होटलका हकमा दिउँसो र बेलुकाको खानासँगै कुनै नेपाली रैथाने खाना परिकार पूरक (कम्प्लिमेन्टरी) उपलब्ध गराउनु पर्नेछ । तीनतारेभन्दा माथिल्लो स्तर होटलमा नेपाली स्वादसहित कम्तीमा प्रचलित तीन प्रकारका कफी र पाँच प्रकारका चिया उपलब्ध भएको व्यवस्था हुनुपर्नेछ ।

सबै किसिमका होटलमा मौसमअनुसारको ताजा फलफूलको जुस उपलब्ध हुनुपर्ने, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट तोकिएबमोजिम खाना तथा पेय पदार्थको गुणस्तर परीक्षण गराई प्रमाणपत्र सबैले देख्नेगरी राख्नुपर्ने, तातो खाना ६० डिग्री सेल्सियस तापक्रमभन्दा माथि हुनुपर्ने, अर्डर भएको १५ मिनेटभित्र एपिटाइजर, सलाद, सुप र २५ मिनेटभित्र मेनु कोर्स उपलब्ध गराउनुपर्नेलगायतका व्यवस्था पनि मापदण्डले गरेको छ । त्यस्तै तीनतारेदेखि माथिका होटलमा खाद्य तथा पेय पदार्थको अर्डर लिँदा टचस्क्रिन प्रविधियुक्त मोनिटरद्वारा लिनुपर्ने व्यवस्थालाई अनिवार्य गरिएको छ ।

होटलको प्रवेशद्वारमा स्पष्ट देखिने गरी नेपाली तथा अङ्गे्रजी भाषामा नाम, सबै कागतमा होटलको नाम र तारेको स्तर खुलाइएको हुनुपर्नेछ । चारतारे, पाँचतारे र पाँचतारे डिलक्स होटलमा अन्तर्राष्ट्रिय मापदण्डका खेलहरू खेल्न मिल्नेगरी बिहान ८ः०० देखि बेलुकी ६ः०० बजेसम्म खेलकुदको सुविधा पनि उपलब्ध गराउनुपर्ने मापदण्डमा उल्लेख छ ।

तारे होटलको स्तरअनुसार १० देखि ८० जनासम्म मानिस अट्ने लबी हुनुपर्ने र लबी नेपाली मौलिक कलाकृतिद्वारा सजावट भएको हुनुपर्नेछ । पर्यटकका लागि आवश्यकता अनुसार गाइड उपलब्ध गराउने व्यवस्थालाई सबै किसिमका तारे होटलमा अनिवार्य गरिएको छ । बढीमा तीन घण्टीभित्र टेलिफोन उठ्ने व्यवस्थालाई पनि मापदण्डले अनिवार्य बनाएको छ । पाहुनाको आगमन भएको एक मिनेटभित्र नमस्कारसहितको अभिवादन गर्ने व्यवस्था हुनुपर्नेछ ।

मापदण्डअनुसार मोबाइल, ल्यापटप, क्यामरा, यूएसबीलगायत विद्युतीय उपकरण चार्ज गर्ने व्यवस्था पनि होटलहरूले अनिवार्य रूपमा मिलाउनु पर्नेछ । तीनतारेभन्दा माथिल्लो स्तरका होटलमा भुइँ तलासहित तीन तला वा सोभन्दा बढी तला भएको होटलमा चौबीसै घण्टा सञ्चालन हुनेगरी लिफ्ट जडान भएको हुनुपर्नेछ ।

तोकिएको मापदण्ड पूरा नभएका प्लास्टिकको प्रयोगमा प्रतिबन्ध लगाइएको हुनुपर्ने मापदण्डमा उल्लेख छ । काठमाडौँ उपत्यकाको हकमा एकतारे स्तरको होटलमा २० वटा, दुईतारे स्तरको होटलमा ४० वटा, तीनतारे स्तरको होटलमा ६० वटा, चारतारे स्तरको होटलमा ८० वटा, पाँचतारे स्तरको होटलमा १०० वटा पाँचतारे डिलक्स स्तरको होटलमा १५० वटा शैया हुनुपर्नेछ । होटलको लबी र होटलको बाहिरी परिसरमा कम्तीमा ह्विलचेयर गुडाउन मिल्ने गरी परिसर निर्माण हुनुपर्नेछ ।

तीनतारेभन्दा माथिल्लो स्तरको होटलमा होटलमा आधारभूत चिकित्सकीय सामग्री तथा औषधिसहित चौबीसै घण्टा चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गर्न सकिने व्यवस्था हुनुपर्ने पनि मापदण्डले व्यवस्था गरेको छ । त्यस्तै होटलको लबीमा मौलिक स्थानीय धुनहरू प्राथमिकता दिई बजाउने व्यवस्था भएको हुनुपर्नेछ । आर्थिक सर्वेक्षण २०७६/७७ अनुसार नेपालमा तारे स्तरको होटलको सङ्ख्या १३८ रहेको छ । गत फागुनसम्म यी होटलमा १३ हजार दुई सय शøया रहेको पनि सर्वेक्षणमा उल्लेख छ ।

आल्मुनियम भाँडा निषेध !
बेकरी प्रयोजनबाहेक आल्मुनियमको भाँडा प्रयोगलाई मापदण्डले निषेध गरेको छ । मापदण्डले स्टिलका भाँडाकुँडा तथा औजार प्रयोगलाई जोड दिएको छ । चारतारे वा सोभन्दा माथिल्लो स्तरका होटलको हकमा अत्याधुनिक प्रविधिका औजारको व्यवस्था भएको हुनुपर्नेछ । त्यस्तै खानेकुरालाई राम्रोसँग पकाइएको र त्यसको राख्ने तापक्रम ७५ डिग्री सेल्सियस पुगेको हुनुपर्नेछ ।

त्यस्तै बुफे खानेकुरालाई दुई घण्टाभन्दा बढी समयसम्म राख्नुपरेमा त्यसको तापक्रम ६३ डिग्री सेल्सियस वा सोभन्दा माथि भएको हुनुपर्नेछ । खानेकुराको सम्पर्कमा आउने सम्पूर्ण उपकरणलाई सफाइ सेनिटाइजर (तातो पानी) प्रयोग गरी सरसफाइ गर्ने व्यवस्था हुनुपर्नेछ । गोरखापत्र

Facebook Comments