२०८३ आश्विन २७, मंगलवार

दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए

       
  • २४ घण्टामा ५६ हजार ८०९ यात्रु बाहिरिए ।
  • नागढुङ्गा नाकाबाट सबैभन्दा बढी यात्रु बाहिरिए ।
  • सडक बिग्रिँदा यातायात व्यवस्थापनमा समस्या ।

 काठमाण्डू । बडादसैँ नजिकिएसँगै काठमाण्डू उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मनाउन अध्ययन, रोजगारी तथा विभिन्न पेसा-व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन् ।

उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किने क्रम बढेको हो ।

काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले सोमबार बिहानदेखि आज बिहानसम्मको २४ घण्टामा काठमाण्डूका विभिन्न नाका हुँदै ५६ हजार ८०९ यात्रु बाहिरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार फर्पिङ नाकाबाट पाँच हजार ५१०, नागढुङ्गा नाकाबाट २७ हजार ६४९, थानकोट नाकाबाट ५६, भीमढुङ्गा नाकाबाट ५१३, तीनपिप्ले नाकाबाट ९७२, साँखु नाकाबाट ६०८, भक्तपुर नाकाबाट २० हजार ६१५ र भट्टेडाँडा नाकाबाट ८८६ यात्रु बाहिरिएका छन् ।

दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न समस्या भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले सडकको अवस्थाका कारण यातायात व्यवस्थापनमा समस्या भएको बताउनुभयो ।

“दसैँको पूर्वसन्ध्यामा विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिँदा सवारीसाधन समयमा गन्तव्यमा पुग्न तथा काठमाण्डू आउन समस्या हुँदा सवारीसाधन व्यवस्थापनमा समस्या परेको छ,” उहाँले भन्नुभयो ।

असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला गरिएको दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिँदा सवारीसाधन आवागमन अवरुद्ध भएको थियो । त्यस क्रममा धेरै सवारीसाधन काठमाण्डूमै रोकिँदा व्यवस्थापनमा समस्या भएको महासचिव गौतमले बताउनुभयो ।

महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ ।

दसैँले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिसहरू चाडपर्व मनाउन घर फर्किने क्रम हरेक वर्ष बढ्ने गरेको छ । रासस

Facebook Comments