२०८३ आश्विन ७, बुधवार

चिनियाँ राष्ट्रपति सीको अमेरिका भ्रमण सुरु, ट्रम्पसँग व्यापारदेखि ताइवानसम्म वार्ता हुने

       
  • एक दशकपछि सीको पहिलो राजकीय अमेरिका भ्रमण सुरु ।
  • ट्रम्पसँग व्यापार, एआई, दुर्लभ खनिज, इरान र ताइवानबारे वार्ता ।
  • ह्वाइट हाउसमा राजकीय सम्मान र भव्य रात्रिभोजको तयारी ।

वासिङ्टन । चिनियाँ राष्ट्रपति सी चिनपिङले बुधबार अमेरिकाको तीनदिने राजकीय भ्रमण सुरु गर्नुभएको छ । उहाँलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन बाहिरको ज्वाइन्ट बेस एन्ड्र्युजमा विमानस्थलमै पुगेर स्वागत गर्नुहुनेछ ।

एक दशकभन्दा बढी समयपछि हुन लागेको सीको पहिलो राजकीय भ्रमणका क्रममा उहाँलाई विशेष सम्मानसहित स्वागत गर्ने तयारी गरिएको छ । भ्रमणका क्रममा व्यापार, कृत्रिम बौद्धिकता, दुर्लभ खनिज, इरान र ताइवानलगायत विषयमा दुई नेताबीच छलफल हुने अपेक्षा गरिएको छ ।

व्यापार तथा अन्य विषयमा मतभेद कायमै रहे पनि भ्रमणलाई अमेरिका-चीन सम्बन्धमा संवाद र रणनीतिक स्थिरता कायम गर्ने प्रयासका रूपमा हेरिएको छ ।

बिहीबार ह्वाइट हाउसमा औपचारिक स्वागत समारोह, सैन्य सम्मान तथा राजकीय रात्रिभोज आयोजना हुनेछ । रात्रिभोजमा प्रविधि क्षेत्रका प्रमुख व्यक्तित्व सहभागी हुनेछन् ।

शुक्रबार राष्ट्रपति सी र उहाँकी श्रीमती पेङ लियुआनले राष्ट्रपति ट्रम्प तथा प्रथम महिला मेलानिया ट्रम्पसँग चिया भेट गर्नुका साथै राष्ट्रिय अभिलेखालयको भ्रमण गर्नुहुनेछ ।

यसअघि मेमा राष्ट्रपति ट्रम्पले चीन भ्रमण गर्दा राष्ट्रपति सी स्वयं उहाँलाई स्वागत गर्न पुग्नुभएको थिएन । चिनियाँ उपराष्ट्रपति हान झेङले उहाँलाई स्वागत गर्नुभएको थियो । त्यस क्रममा बेइजिङमा अमेरिकी राष्ट्रपतिको विमानलाई रातो गलैँचा, सैन्य सम्मान गार्ड, सैन्य ब्यान्ड र झन्डा बोकेका सयौँ बालबालिकाले स्वागत गरेका थिए ।

अमेरिकी सिनेटको सशस्त्र सेवा समितिका रिपब्लिकन अध्यक्ष रोजर विकरले भने सीलाई दिइएको भव्य स्वागतप्रति असहमति जनाउनुभएको छ । उहाँले चीनको सैन्य विस्तार र इरानप्रतिको चीनको समर्थनलगायत विषयमा वार्ताका क्रममा ध्यान दिनुपर्ने बताउनुभयो । एपी

Facebook Comments