नेपालमा बाढी-पहिरोको विनाशप्रति पाकिस्तानद्वारा दु:ख व्यक्त: प्रधानमन्त्री शहबाज सरिफद्वारा शोक पुस्तिकामा हस्ताक्षर, राहत सामग्री पठाउने घोषणा
भिओके समाचार/काठमाण्डू । नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न र ऐक्यबद्धता जनाउन पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शहबाज सरिफले आज इस्लामाबादस्थित नेपाली दूतावासको भ्रमण गरी शोक पुस्तिकामा हस्ताक्षर गर्नुभएको छ।

दूतावास पुग्नुभएका प्रधानमन्त्री सरिफलाई पाकिस्तानका लागि नेपाली राजदूत रीता धितालले स्वागत गर्नुभएको थियो। सो अवसरमा सूचना मन्त्री अत्ताउल्लाह तरार, प्रधानमन्त्रीका विशेष सहायक सैयद तारिक फातमी, परराष्ट्र सचिव आमना बलोच तथा अन्य उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
शोक सन्देशमा प्रधानमन्त्री सरिफले नेपाल सरकार, नेपाली जनता र शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ। यसअघि नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन वार्ताका क्रममा व्यक्त गर्नुभएको भावनालाई दोहोर्याउँदै उहाँले यो दु:खद घडीमा पाकिस्तान नेपालको साथमा रहेको प्रतिबद्धता पुनः दोहोर्याउनुभयो।

नेपालस्थित पाकिस्तानी राजदूतावासका अनुसार प्रधानमन्त्री सरिफले नेपालमा जारी उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन यसै साताको अन्त्यसम्ममा पाकिस्तानले आपत्कालीन राहत सामग्री पठाउनेसमेत जानकारी गराउनुभयो। नेपाल र पाकिस्तानबीचको घनिष्ठ तथा भाइचारा सम्बन्धको चर्चा गर्दै उहाँले अप्ठ्यारो समयमा दुवै देश सधैं एक-अर्काको साथमा उभिने विश्वास व्यक्त गर्नुभयो।
नेपाली राजदूत रीता धितालले प्रधानमन्त्री सरिफको यस सद्भाव र सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै यो कदम नेपाली जनताले लामो समयसम्म स्मरण गरिरहने बताउनुभयो। साथै, उहाँले दुई देशबीचको द्विपक्षीय सहकार्यको वर्तमान अवस्थाबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो।

