११ सेप्टेम्वर आतंकवादी हमला : न्यूयोर्कमा २५औँ स्मृति दिवस मनाइँदै
- ९/११ हमलामा ज्यान गुमाएका दुई हजार ९७७ जनाको स्मरण गरिँदै ।
- पूर्वराष्ट्रपतिहरू बुश, ओबामा, क्लिन्टन र बाइडेन समारोहमा सहभागी हुने ।
- न्युयोर्क हार्बरमा मृतकको सम्झनामा दुई हजार ९७७ बत्तीको ड्रोन प्रदर्शन गरिने ।
न्यूयोर्क । अमेरिकाको न्यूयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको आतङ्कवादी हमलाको २५औँ स्मृति दिवस शुक्रबार मनाउँदैछ । हमलामा ज्यान गुमाएका दुई हजार ९७७ जनाको स्मरणमा आयोजना हुने समारोहमा राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी नहुने भए पनि पूर्वराष्ट्रपतिहरू जर्ज डब्लु बुश, बाराक ओबामा, बिल क्लिन्टन र जो बाइडेन तथा न्युयोर्कका पहिलो मुस्लिम मेयर जोहरान ममदानी सहभागी हुनुहुनेछ ।
राष्ट्रपति ट्रम्पले न्युयोर्कको ‘ग्राउन्ड जिरो’को सट्टा पेन्टागनमा श्रद्धाञ्जलि अर्पण गर्नुहुनेछ । समारोहमा मृतकका परिवारका सदस्यहरूले पीडितहरूको नाम स्मरण गर्नुका साथै हमलाका प्रमुख समय सम्झन घण्टी बजाउनेछन् । न्युयोर्क हार्बरमा मृतक प्रत्येक व्यक्तिको सम्झनामा दुई हजार ९७७ बत्तीको ड्रोन प्रदर्शन गरिनेछ ।
ममदानीको सहभागितालाई लिएर दक्षिणपन्थी समूह तथा पूर्वमेयर रुडी गुलियानीलगायतले विरोध गरे पनि उहाँ समारोहमा सहभागी हुनुहुनेछ । यसअघि उहाँविरुद्ध सञ्चालन गरिएको याचिकामा एक लाखभन्दा बढी हस्ताक्षर सङ्कलन भएको थियो । नगर परिषद् सदस्य साहाना हनीफले मुस्लिम भएकै कारण ममदानीलाई फरक व्यवहार गरिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
९/११ हमलापछि विश्व व्यापार केन्द्रका जुम्ल्याहा टावरबाट फैलिएको धुलो र विषाक्त वायुका कारण हजारौँ मानिसमा क्यान्सरलगायतका रोग देखिएको बताइएको छ । सङ्घीय कार्यक्रमका अनुसार हमलासँग सम्बन्धित रोगका कारण हालसम्म नौ हजार ४०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
सन् २००१ मा अल-कायदाका १९ सदस्यले चारवटा विमान अपहरण गरेका थिए । तीमध्ये दुई विमान विश्व व्यापार केन्द्रका जुम्ल्याहा टावरमा ठोक्किएका थिए भने अर्को पेन्टागनमा ठोक्किएको थियो । चौथो विमान यात्रुहरूले प्रतिरोध गरेपछि पेन्सिलभेनियाको स्याङ्क्सभिल नजिकै खसेको थियो ।
स्मृति दिवसका अवसरमा न्युयोर्कमा कडा सुरक्षा व्यवस्था गरिएको छ । प्रहरी आयुक्त जेसिका टिस्चले सावधानीका लागि ड्रोनविरोधी टोली परिचालन गरिने बताउनुभयो ।
यसैबीच अल-कायदाले वार्षिकोत्सवका अवसरमा दिवङ्गत नेता ओसामा बिन लादेन र उहाँका छोरा हम्जाको तस्बिर समेटिएको भिडियो सार्वजनिक गरेको छ । एएफपी

