Fri. May 17th, 2024

आज शहीद दिवस, प्रधानमन्त्री र राष्ट्रपतिद्वारा छुट्टाछुट्टै सन्देश

काठमाडौं, २०७७ माघ १६ गते शुक्रबार

आज माघ १६ गते शहीद दिवस । प्रजातन्त्रको स्थापना र पुनःस्थापनालगायत विभिन्न समयमा स्वतन्त्रताका लागि जीवन बलिदान गर्ने शहीदहरुको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै छ । प्रत्येक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म शहीद दिवस मनाउने गरिन्छ ।

जनताको सार्वभौम अधिकारका लागि आफ्नो जीवन बलिदान गर्ने महान् शहिदप्रति भावपूर्ण श्रद्धा र सम्मान अर्पण गर्दै आजको दिन देशभर सहिद दिवस मनाउने गरिन्छ ।

शहीद दिवसका अवसरमा अहिले बिहान शान्तिबाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्याण्ड, मार्चपास र शहीदहरुको तस्बिर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत हुने कार्यक्रम रहेको छ ।

लैनचौरमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिलगायत सहभागी हुनुहुने काठमाण्डौ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।

आजको दिन नेपाली जनतामा सार्वभौम अधिकार निहीत गराउन जहाँनिया राणाशासनका विरुद्धमा दरो रूपमा आवाज उराल्ने चार वीर सपूतहरू सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको योगदानको स्मरण गरिन्छ।

विसं १९९७ माघ १० गते निरङ्कुश राणाशासन विरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई राजनैतिक अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रुखमा झुण्ड्याएर हत्या गरिएको थियो। त्यसको दुई दिनपछि माघ १३ गते सिफलमा धर्मभक्तलाई झुण्ड्याएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभाभगवतीमा गोली हानी राणाहरूले हत्या गरेका थिए।

उनीहरूले हाँसीहाँसी देश र जनताका लागि देखाएको त्याग राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ।

पछिल्लो कालखण्डमा निरङ्कुश पञ्चायती व्यवस्था तथा राजतन्त्रका विरुद्धका अहिंसात्मक तथा शान्तिपूर्ण प्रजातान्त्रिक आन्दोलनका क्रममा ज्यान गुमाएकाको सम्झना तथा सम्मान यसै दिवसमा गरिन्छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने अभियानमा रहेको बताउनुभएको छ ।

शहीद दिवस २०७७ का अवसरमा सन्देश दिँदै उहाँले जनतालाई अधिकार सम्पन्न बनाई शहीदको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले शहीदको बलिदानीपूर्ण सङ्घर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्य सरकारले तय गरेकोसमेत बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हामीले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदहरूले गरेका बलिदानको प्रतिफल भएको बताउनुभएको छ ।

शहीद दिवसका अवसरमा आज सन्देश दिँदै राष्ट्रपति भण्डारीले भन्नुभएको छ, “शहीदको सम्मानमा गरिने अनुष्ठानले उहाँहरूको सङ्घर्ष र त्यागको मर्मलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।”

Facebook Comments