२०८३ भाद्र २१, आइतवार

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ फराकिलो बनाइँदै

       

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरोले सडक भासिएपछि निर्माण सामग्री र उपकरण लैजान खोलिएको ‘ट्र्याक’ फराकिलो बनाउन थालिएको छ । सर्वसाधारणका सवारी सञ्चालन गर्ने तयारीस्वरूप माथिल्लो भागमा रुख कटान र झाडी फाँडेर ट्र्याक खोलिएको हो ।

नौबिसे-मुग्लिन सडक आयोजनाको पश्चिमखण्डका इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार पहिरो गएको स्थानमाथिबाट निरन्तर काम गरेपछि डाँडामाथिबाट दुवैतर्फ करिब चार मिटर चौडाइको ट्र्याक खोलिएको छ ।

उहाँले भन्नुभयो, “हिजो खुलेको ट्र्याक फराकिलो बनाउने काम सुरु गरिएको छ ।”

माथितिर भित्ता काट्ने, बाटो चौडा गर्ने, ग्राभेलिङ गर्ने, ग्रेडिङ मिलाउने र डिजाइनअनुसार पहिरो व्यवस्थापन गर्नेलगायत धेरै काम बाँकी छन् । सर्वसाधारणका गाडी सञ्चालन हुन अझै समय लाग्ने उहाँले बताउनुभयो ।

आगामी भदौ मसान्तसम्ममा सर्वसाधारणका सवारी सञ्चालन गर्न मिल्ने गरी तीव्र गतिमा काम भइरहेको मिश्रले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अब डिजाइनअनुसार काम गर्ने वातावरण बनेको छ । निर्माणका लागि आवश्यक प्राविधिक सामग्री र जनशक्तिको अभाव छैन । अब सडक डिजाइनअनुसार निर्माण हुन्छ र काम गर्न सहज भएको छ ।”

मिश्रका अनुसार अहिले खोलिएको ट्र्याक मुख्यतया निर्माणमा संलग्न कामदार र निर्माण सामग्री ओसारपसारका लागि प्रयोग भइरहेको छ ।

नयाँ ट्र्याक निर्माण कम्पनी शर्मा-जेडआइभी जेभीले खोलेको हो । कम्पनीका साइट प्रबन्धक इञ्जिनियर ईश्वर नेपालका अनुसार मुख्य सडकबाट करिब २० मिटर अग्लो स्थानमा ३५० मिटर लामो ट्र्याक खोलिएको छ ।

उहाँले भन्नुभयो, “ट्र्याक खुलेपछि निर्माण सामग्री लैजान, इन्धन पुर्‍याउन र कामदार आवतजावत गर्न सहज भएको छ । अहिले यो ट्र्याक निर्माण प्रयोजनका लागि मात्रै प्रयोग भइरहेको हो । सर्वसाधारणका लागि नयाँ सडक खुलेको होइन ।”

उहाँका अनुसार अब स्लोप कटिङ, भित्ता काट्ने, ढुङ्गा थुपार्ने र ग्रेडिङ मिलाउनेलगायत धेरै काम बाँकी छन् । आपत्कालीन अवस्थामा सर्वसाधारण पनि हिँडेर वारपार गर्न सक्ने अवस्था बनेको उहाँको भनाइ छ ।

अब दुवैतर्फबाट डिजाइनअनुसार सडक निर्माणको काम अघि बढाइने उहाँले बताउनुभयो ।

आजदेखि थप भारी उपकरण परिचालन गरिएको छ । दुई एक्साभेटर थपेर सात पुर्‍याइएको छ भने एउटा जेसिबी, लोडर र दुई बुल्डोजर परिचालन गरिएको छ । आवश्यकताअनुसार उपकरण थप्दै लगिने उहाँले जानकारी दिनुभयो । रासस

Facebook Comments