भोटेकोशी बाढीपछि ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको सन्देश : हजुरहरू एक्लो हुनुहुन्न, सरकार साथमा छ
- प्रधानमन्त्री शाहको सन्देश : ज्येष्ठ नागरिकलाई सरकारको साथ ।
- बाढी प्रभावित ज्येष्ठ नागरिकका लागि सुरक्षित बसोबासको प्रतिबद्धता ।
- खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मीको आत्मबल बढाउन आग्रह ।
काठमाण्डू । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य र सरकार उनीहरूको साथमा रहेको बताउनुभएको छ ।
सामाजिक सञ्जालमार्फत आज सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले भन्नुभएको छ, “तपाईंहरू एक्लो हुनुहुन्न, राज्य तपाईंको साथमा छ, सरकार तपाईंको साथमा छ ।”
नुवाकोटको विदुर-१०, बेत्रावतीमा सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई जीवितै उद्धार गरेको घटनाले सिङ्गो देशलाई आशा दिएको उहाँले उल्लेख गर्नुभएको छ । “यो खबर खोज तथा उद्धारमा हामी अझै डटेर लागिरहेका छौँ भन्ने सन्देश पनि हो”, उहाँले भन्नुभएको छ ।
सरकारले चन्द्रिका श्रेष्ठको उमेर समूहका तथा त्यसभन्दा माथिका धेरै ज्येष्ठ नागरिकलाई प्रभावित क्षेत्रबाट उद्धार गरिसकेको प्रधानमन्त्रीले बताउनुभएको छ । बाढीका क्रममा कतिपय ज्येष्ठ नागरिकले आफ्ना नातिनातिनालाई च्यापेर डाँडातिर भागेर ज्यान जोगाउनुपरेको र कतिपयले आफ्नै आँखाअगाडि छोराछोरी तथा नातिनातिना बगेको हेर्न विवश हुनुपरेको उहाँले उल्लेख गर्नुभएको छ ।
बाढीले कतिपयलाई जीवनसाथी गुमाएर एक्लो बनाएको तथा जीवनभर पसिना बगाएर जोडेको घर, खेतबारी र पशुपन्छीसमेत क्षणभरमै बगाएको प्रधानमन्त्रीले बताउनुभएको छ । वृद्धाश्रममा बसिरहेका ज्येष्ठ नागरिकसमेत सुरक्षित स्थानतर्फ भाग्नुपरेको उहाँले उल्लेख गर्नुभएको छ ।
“अहिले न ती घरआँगन छन्, न त चौतारीमा बसेर दुःखसुख साट्ने अवस्था नै छ”, प्रधानमन्त्रीले भन्नुभएको छ, “त्यो बिहान भोटेकोशीको विनाशकारी बाढीले एकैछिनमा धेरै कुरा खोसेर लग्यो ।”
सरकारले सञ्चालन गरेका होल्डिङ सेन्टरमा राहत, स्वास्थ्य सेवा तथा जीवनयापनका लागि आवश्यक सुविधा उपलब्ध गराइएको उहाँले जानकारी दिनुभएको छ । नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान, विदुर भवन बाढीबाट क्षतिग्रस्त भएपछि त्यहाँ रहेका सात जनालाई नेपाल सिनियर केयर, म्हैपी, काठमाडौँ तथा १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको उहाँले बताउनुभएको छ ।
उहाँहरूलाई हिँडडुलका लागि ह्वीलचियर तथा वाकर उपलब्ध गराइएको र मानसिक आघात तथा शारीरिक कष्ट कम गर्न विशेष टोलीमार्फत स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्श सेवा दिइरहेको प्रधानमन्त्रीले जानकारी दिनुभएको छ ।
“अस्थायी बसाइलाई सकेसम्म छोटो बनाइ हजुरहरूलाई हरसम्भव छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउने छौँ”, उहाँले भन्नुभएको छ ।
बाढी प्रभावित ज्येष्ठ नागरिकको पीडा आफूहरूले हृदयदेखि महसुस गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले जीवनको कठिन मोडमा उनीहरूलाई कहिल्यै अलपत्र नछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “हजुरहरूले आफूलाई एक्लो नठान्नु होला । जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौँ । हजुरहरूसँग यो राज्य छ, यो सरकार छ”, उहाँले भन्नुभएको छ ।
जीवनका अनेक घामपानी, खडेरी र आँधीबेहरी पार गरेका ज्येष्ठ नागरिकको ओत र जायजेथा बाढीले बगाए पनि उनीहरूको स्वाभिमान, अनुभव र मार्गदर्शनको महत्त्व बगाउन नसकेको प्रधानमन्त्रीको भनाइ छ । “हजुरहरू यो देशका जग र हाम्रा मार्गदर्शक हुनुहुन्छ”, उहाँले भन्नुभएको छ ।
प्रधानमन्त्रीले बाढीमा ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । उहाँहरूले घरको मूल खम्बा, संस्कार र ज्ञानका स्रोतका रूपमा निर्वाह गरेको भूमिकालाई स्मरण गर्दै शोकसन्तप्त परिवारप्रति सहानुभूति व्यक्त गर्नुभएको छ ।
आफन्त गुमाएर अथाह पीडामा रहेका नागरिकको आक्रोश स्वाभाविक भएको बताउँदै प्रधानमन्त्रीले पीडितको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले यस्तो संवेदनशील घडीमा पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेप्रति सरकार निर्मम हुने चेतावनी दिनुभएको छ ।
बाढीपछि खोज तथा उद्धारमा सुरक्षाकर्मी अझै सक्रिय रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले दलदल र खण्डहर बनेका क्षेत्रमा सुरक्षाकर्मीले ज्यान जोखिममा राखेर खोजी गरिरहेको बताउनुभएको छ । “हाम्रा सुरक्षाकर्मीहरू अझै पनि कुनै बहाना नबनाई बाढीपछिको दलदल र खण्डहर बनेका क्षेत्रमा खोस्रिरहेका छन् । उहाँहरूका आँखा चनाखा छन्”, उहाँले भन्नुभएको छ ।
उद्धार तथा खोजीमा आफ्नो ज्यान जोखिममा राखेर खटिएका सुरक्षाकर्मीप्रति हरेक दिन हृदयदेखि कृतज्ञता व्यक्त गर्नुपर्ने र उनीहरूको आत्मबल बढाउनु सबैको कर्तव्य भएको प्रधानमन्त्री शाहले बताउनुभएको छ । रासस

