Fri. Apr 26th, 2024

वामदेव गौतमद्वारा औपचारिक रुपमा पार्टी ‘एकता राष्ट्रिय अभियान’को घोषणा

- प्रचण्ड र केपी ओलीलाई ‘एकैतिर फर्काइदिने’

काठमाडौं, २०७७ माघ १४ गते बुधबार

राजनीतिक र सांगठनिक रुपमा नेपाल कम्युनिष्ट पार्टी विभाजन भएको ४० दिनपछि नेकपा उपाध्यक्ष वामदेव गौतमले औपचारिक रुपमा ‘एकता राष्ट्रिय अभियान’को घोषणा गर्नुभएको छ । ।

नेकपा दाहाल-नेपाल र ओली समूह आरोप-प्रत्यारोप र संगठन निर्माणमा जुटेका बेला गौतमले भने तेस्रो मञ्चबाट उनीहरुलाई जुटाउने अभियान थाल्नु भएको हो। तर, उहाँको यो अभियानमा पूर्वमाओवादी समूहका नेता-कार्यकर्ता भने जोडिएका छैनन् ।

करिब एक घण्टा लामो सम्बोधनमा गौतमले तत्कालीन एमाले र माओवादी एकताको प्रसंगमात्र होइन, एकतापछि अन्तरसंघर्ष र विभाजनपछिको नेकपाको भविष्यसम्मबारे आफ्नो मत राख्नु भएको छ। तत्काल एकता सम्भावना नभए पनि संसद् पुनस्स्थापनाले एकता सहज हुने गौतमको बुझाई छ । यही बुझाईका साथ आफू संसद् पुनस्थापनाको पक्षमा उभिएको पनि गौतमले स्पष्ट पार्नुभयो ।

यस्ता छन् गौतमको सम्बोधनका महत्वपूर्ण र रोचक प्रसंग

एकतामा दुई अध्यक्षको प्रयोग असफल : पार्टी निर्माण गर्दा दुई जना अध्यक्षको अवधारणा प्रस्तुत गरेँ किनभने एकताका लागि ओली र प्रचण्ड तयार हुनुपर्दथ्यो । दुवैले अध्यक्षता नछाड्ने भन्नुभयो । दुवैले अध्यक्षता नछाड्ने हो भने दुवैलाई अध्यक्ष बनाएर जाउँ, नयाँ अनुभव होला भन्ने भयो । तर, यो सफल भएन । ०४७ सालमा पनि पार्टी एकता गर्‍यौं । त्यसबेला दुई अध्यक्ष वा दुई महासचिवमा गएनौं । एउटा मानार्थ अध्यक्ष र एक जना कार्यकारी महासचिव बनायौं । तर, यसपाली दुई अध्यक्ष बनायौं, जसले नेतृत्वको केन्द्र दुई ठाउँ भयो । त्यसो भएपछि मेलमिलाप हुँदासम्म ठीक ढंगले चल्छ । दुई वटा गोरुलाई फुकाईदिनुभयो भने घाँसतिर जान्छन् । जुटाएर राख्नुभयो भने एकैतिर जान्छ । मानिस हो यता पनि जान्छ, उता पनि जान्छ कसले बाँधेर राख्छ । त्यही सिद्धान्त लागू भयो ।

पार्टी विभाजनको पहिलो खुट्किलो : गत वर्ष मंसिर ४ मा पार्टी सचिवालयमा एउटा घटना भयो । हामीले धेरै लडाइँ गर्दै प्रचण्डको अध्यक्षताको अगाडि कार्यकारी थप्यौं, यो हाम्रो विजय थियो । अन्तरपार्टी संघर्षमा हामीले प्राप्त गरेको सफलता थियो । त्यसबेला प्रचण्ड यति खुसी हुनुभयो, धेरै भावुक हुनुभयो । उहाँको अगाडिपट्टि म थिएँ, के गर्नुहुन्छ भनेर हेर्छु, दंग पर्नुभयो । एकछिन स्तब्ध भयौं । अनि उहाँले भन्नुभयो–केपी ओलीज्यू यो प्रचण्ड प्रधानमन्त्री भएर प्रचण्ड भएको होइन । दुई पटक प्रधानमन्त्री भइसकेको छु, मलाई फेरि प्रधानमन्त्री चाहिएको छैन । मैले कार्यकारी भएर काम गर्न पाएपछि हाम्रो एकताको बेला आलोपालोबारे जे थियो, त्यो मैले परित्याग गरें, मैले प्रधानमन्त्री संचालन गर्न पाउने आधा समय पनि तपाईंलाई दिएँ भन्नुभयो । ओलीले तुरुन्तै महासचिवलाई यो निर्णय लेखिहाल्नुस् भन्नुभयो । अरु बेला त पहिला टिपिन्छ, निर्णय पछि मिलाएर लेखिन्छ । आजको विभाजन सुरुआत त्यसैबेला भयो । पार्टी एकताको सबैभन्दा महत्वपूर्ण पक्ष आलोपालो नै हो । त्यो नहुँदासम्म एकता हुँदै भएन । आलोपालो छाड्ने र आधाआधा प्रधानमन्त्री छाड्ने भनेर जुन दिन प्रचण्डले छाड्नुभयो ।

हामी सबं खुट्टा कमाएर बस्यौं । लडाइँ हामीले गरेका थियौं, कार्यकारी हामी सचिवालयकाले ल्याएका थियौं, निरन्तर संघर्ष गरेर । तर, उहाँले एक्लै छाड्नुभयो । अन्तिम बेलामा उहाँले लागू गरौं भन्नुभयो । प्रचण्डले यसो भनेपछि ओलीले महत्व दिनुपर्दथ्यो । ओलीले आफूलाई अभिभावक ठान्नुहुन्थ्यो भने उहाँले एकताको आधार हो, तपाईंले आज छाडेर मैले लिन हुन्न, पार्टी एकता पूरा नहुँदै तपाईंले छाड्‍नुभयो भने एकता अगाडि बढ्दैन, आलोपालोमा तपाईं बस्नुस्, म छाड्छु भन्नुपर्दथ्यो । तर, उहाँले छाड्नु भएन । त्यसपछि हामी लड्यौं आयौं । हामीले विभाजन रोक्न सकेनौं । मैले के गल्ती गरेँ भने त्यसबेला प्रचण्ड कमरेड तपाईंले छाड्नु पाउनुहुन्न भन्नुपर्दथ्यो । त्यसबेला भनेको भएँ, सच्चिन सक्थ्यो । मलाई रीसमात्र उठ्यो । प्रचण्डले यसो गर्नुहोला भन्ने मलाई लागेकै थिएन । पछि गएर प्रचण्डले गल्ती भएछ भन्नुभयो । तर, पनि मैले तपाईंले हामी सबैको भावनामा चोट पुर्‍याउनुभयो भनें । मंसिर ४ पछि जुटाउनेतिर होइन, सबै क्रियाक्रलाप विभाजनतिर गए । तराजुमा राख्यो भने विभाजनमा ओली र प्रचण्ड दुवै बराबर कमजोरी छ ।

पार्टी विभाजनमा ओली–दाहालको भूमिकाबारे : एकता महान् थियो । गौरवशाली थियो । आज ती सबै कुरा किन उहाँहरुले हेर्न सक्नु भएन । फुटेर ती प्राप्त हुन्छन् । मैले कमरेडहरुसँग भने–कमरेड म तपाईंहरुसँगै छु, प्रधानमन्त्रीका व्यक्तिवादी, स्वेच्छाचारी र निरंकुश शैलीका कारण हामी एक ठाउँ छ । तर, सबै विषय पार्टीभित्रै समाधान गर्नुपर्छ । पार्टी फुटने मूल्यमा केही पनि गर्नुहुन्न । पार्टी एकताको मूल्यमा हामीले आफ्नो धारणा दबाउनुपर्छ, अन्याय पनि सहनुपर्छ । मैले यसो भनेपछि उहाँहरुले भन्नुभयो–कमरेड एकताले नै सबै हुन्छ ? के सोभियत संघको कम्युनिष्ट फुटेर सकिएको हो ? के भारतमा त्यहीं भएको हो ? इन्डोनेसियामा यस्तै भएको हो ? मैले लामो बहस गरिनँ, किनभने उहाँहरुले गलत कुरा गर्नुभएको थियो । नफुट्न पनि सकिन्छ भनें । फुटाउनकै निम्ति अविश्वासको प्रस्ताव अगाडि सारियो । पार्टी फुट्छ भनेर प्रतिनिधिसभा भंग गरियो ।

संसद् भंग नगरी उहाँले राजीनामा लिएर राष्ट्रपतिकहाँ गएको भए के हुन्थ्यो केपी ओलीको प्रतिष्ठा । मेरै कमरेडहरुले पार्टीभित्र कुनै निर्णय नगरी गुप्त रुपले बहुमतको हस्ताक्षर गराएर मलाई हटाउन अविश्वासको प्रस्ताव लिएर जानुभएको थियो, उहाँहरुलाई किन दु:ख दिने, पार्टीमा अल्पमतमा परेको छु भने यस्तो अवस्थामा आफैंले राजीनामा गरेर यो पार्टीलाई बचाउनुपर्छ र मेरो नाम राख्नुपर्छ भनेर उहाँले सोच्नु पर्दैनथ्यो ? तिमीले पार्टी फुटाउँछौं भने तिमी जुन ठाउँमा उभिएका छौं, त्यो धर्ती भत्काइदिन्छु भनेर संसद् भंग गर्नुभयो । त्यसकारण हामीले निर्माण गरिरहेका संस्कृति ध्वस्त भयो । जहाँ हामी जान खोजेका थियौँ, सबैमा हामी तल झर्‍यौं ।

बालुवाटारमा गच्छदारले सम्झाए : पार्टीमा आरोप–प्रत्यारोपका पत्र आइसकेका थिए । बालुवाटारमा सर्वदलीय बैठक थियो । बैठकमा विजय गच्छदारले ओली र प्रचण्ड–माधवको आरोप र खण्डन पत्र दुई वटा हातमा उठाउँदै भन्नुभयो–तपाईंहरु के गर्नुभएको छ, हेर्नुस् । अब हामीलाई त घोषणा पत्र नै चाहिएन । जहाँ तपाईं जानुहुन्छ त्यहीँ तपाईंको विरोत्र पत्र देखाइन्छ । यति भएपछि हामीलाई त मज्जा भयो । तपाईंहरु यस्तो गर्नुहुन्छ । मेरो लागि दुवै साथी हो । उहाँले प्रतिकात्मक रुपमा भन्नुभयो–तपाईंहरुले गल्ती गर्नुभयो । अरु इमान्दार राजनीतिज्ञले पनि भने ।

मैलो पार्टी फुटाउँदा तत्कालीन सभामुख रामचन्द्र पौडेलेले तीन पटक यसो नगर्नुस् भन्नुभएको थियो । जेलमा हामी सँगै बसेका थियौं । उहाँले पार्टी नफुटाउनस्, ६–७ महिनापछि तपाईं पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्ने हो भन्नुभयो । तीन पटक उहाँका गएपछि अन्तिमबेला पनि उहाँले तपाईंको साथी भएर यसो नगर्नुस् भन्नुभयो । हामीले गर्‍यौं । शेरबहादुर देउवाले डडेल्धुराबाट फोन गरेर कामरेड तपाईंको बुद्धि कहाँ गयो भन्नुभयो । यो पार्टीको प्रमुख त तपाईं बन्दैहुनुहुन्थ्यो भन्नुभयो । पार्टी विभाजन भएकोमा कोही पनि खुसी छैनन् । मलाई साथीहरुले शुभकामना दिएका छन्, मैले गरेको काम ठीक छ भनेका छन् ।

अभियानको समयसीमा : ओलीले त वामदेवले अर्कै पार्टी बनाउन थाल्नुभएको छ भन्नुभएछ । हामीले पार्टी बनाएका छैनौं । यो पार्टी एकता कहिलेसम्म गर्न सकिएला । एक महिना, दुई महिना वा तीन महिनासम्म । तर ठेगान छैन । दुई वर्षसम्म पनि जान सक्छ । तर, संगठित सदस्यलाई बचाइराख्न एउटा संगठनको आवश्यकता पर्छ । संगठित भएर मात्रै औपचारिक रुपमा कम्युनिष्ट सदस्य हुन पाइन्छ । अभियानमा साथ दिन्छ भनेको छु । ६ महिनामा काठमाडौंमा बस्न नसक्ने गरी जनता जुटाउन सक्छौँ । शक्ति निर्माण हुँदैछ, तर पनि हामी पार्टी एकता अभियान छाड्दैनौं । अर्को पार्टी हामी बनाउँदैनौं ।

मसँग आउन साथीले भन्नुभयो–पार्टी एकता हुँदै भएन भने के गर्ने ? मैले भने–हुँदै भएन भने हाम्रो केन्द्रीय कमिटी बसेर जे गर्नुपर्छ, त्यहीं गरौंलाँ । प्रश्न ठीक छ । एकता नभएसम्म अभियान जारी राख्ने । अर्कोपटक उनीहरुलाई एकताका लागि बाध्य पार्ने गरी जान्छौं । ठूला नेता विभाजित भएका छन्, दोस्रो र तेस्रो पुस्ताका नेताहरु अति नै चिन्तित छन्, उनीहरुले दु:ख पनि गरे, रगत पनि बगाए, पसिना पनि बगाए । केही ठूला नेता नआए पनि दोस्रो र त्यसभन्दा तलका नेता आउँछन् । नेतृत्व हस्तान्तरण गर्नुपर्छ, त्यही अपील गरेर साथीहरुलाई बोलाउँछु । प्रचण्डतिर र ओलीतिर भएका कार्यकर्ता पनि ल्याउने र पार्टी एकता गर्छौं । हरि पराजुलीले एक मिनेट ढिला गरे, म कता जान्छु भनेपछि अभियान सुरु गर्‍यौं । तर, ढिला भएको छैन । राम्रो काम ढिला भएर केही हुँदैन । उत्तेजनामा आएर विभाजित भएका छन् । पछि तिनीहरुले पनि सोच्छन् । हामी अर्जुनदृष्टि लिएर जाने हो ।

ओली र प्रचण्ड सैनिकबिनाका सेनापति हुन्छन् : सर्वोच्च अदालतले के निर्णय गर्ला ? यसले दुई वटामध्ये एक निर्णय गर्छ, कि पुनर्स्थापना गर्छ, कि सदर गर्छ । वैशाख १७ र २७ गते निर्वाचनमा भयो भने पनि हामी त्यहाँ भोट हाल्नैपर्छ । अरुलाई होइन, यिनै ओली–प्रचण्डमध्ये जो मन पर्ने उम्मेदवार हुन्छ, त्यही भोट हाल्ने हो । कुनै कुनै उम्मेदवार दुवै मन परेन भने के गर्ने ? तुलनात्मक रुपमा जो राम्रो छ, त्यसैलाई भोट हाल्ने । पुन:स्थापना भयो भने हामीलाई दुई वर्ष समय हुन्छ । ओली र प्रचण्डका दुवै समूहलाई ल्याउँछु । केपी ओली कहिल्यै पनि एकताको पक्षमा हुनुहुन्थेन, प्रचण्डजी म हुँदा एकताको पक्षमा हो, म नहुँदा उहाँ पनि एकताको पक्षमा होइन । उहाँहरुलाई एक ठाउँ ल्याइयो । अहिले दुईतिर फर्कनुभएको छ ।

दुईतिर फर्केकालाई ओलीलाई प्रचण्डतिर र प्रचण्डलाई ओलीतिर फर्काइदिन्छु । त्यो तागत नेपाली जनताले हामीलाई दिन्छन् । मैले म भनेको छु, हामी सबै हो । मैले चाहन्नँ भन्ने स्थिति नै हुँदैन, उहाँहरु बाध्य हुनुहुन्छ । यदि त्यसो गर्नुभएन भने उहाँहरु सेनापति त हुनुहुन्छ, तर सैनिक अन्यत्र गइसकेका हुन्छन, त्यो भनेको हामीतिर हुन्छन् । अदालतको निर्णय के हुन्छ, प्रचण्ड र ओलीले भनेजस्तै मैले भन्न मिल्दैन, किनभने हामीले जनताको बहुदलीय जनवादमा संविधानको सर्वोच्चता भनेका छौं । संविधानको सर्वोच्चता भनेको त्यसको व्याख्या गर्ने अधिकार सर्वोच्चलाई छ । संवैधानिक इजलासलाई छ, विवाद त्यहाँ पुगेको छ । त्यसले जे भन्छ, हामीले त्यही मान्नुपर्छ । तर, मेरो भित्री चाहना पुन:स्थापना भइदिए हुन्थ्यो भन्ने छ । तपाईंहरु पनि त्यही पक्षमा हुनुहुन्छ भन्ने लागेको छ ।

चुनावी नतिजाको भविष्यवाणी : वैशाखमा चुनाव भए दुई तिहाई ल्याउँछौं भन्ने ओली समूहको दाबी । दुई वर्षपछि चुनाव भए हामी बहुमत ल्याउँछौं भन्ने प्रचण्डको समूह भनाइ छ । मैले तपाईंहरुलाई हिसाब दिन्छु । गएको चुनावमा ठूलो लहर आएको थियो, हाम्रो पार्टीको पक्षमा । दुई पार्टी मिलेर चुनावमा गएका थियौं, त्यहाँ हामीले पाएको मत ४३ लाख हो । कांग्रेसले प्राप्त गरेको मत ३० लाख हो । पाँच–सात लाख मतदाता बढेका पनि होलान् । मतदाता बढे पनि भोटिङ औसत हुन्छ ।

अब हामीले प्राप्त गरेको भोट बाँडिने हो भने साढे २१ लाख हुन्छ । २२ लाख मत कसैले पाए पनि हामीलाई पछारिदिन्छन् । यस्तो अवस्थामा हामी पराजित हुनेबाहेक अरु विकल्प छैन । हाम्रो मत विभाजित हुने पक्का छ, कांग्रेसले पछारिदिन्छ । फुटेर पनि बहुमत ल्याउँछौं भन्नु सिद्धान्तत: पनि गलत छ । जुटेर निर्माण गर्न सकिने शक्ति आज फुटेर पनि प्राप्त गर्छौं भन्दै हुनुहुन्छ । मैले पनि चार वर्ष यस्तै भाषण गर्दै हिँडेको थिए । फुटेर बाहिर गएको मेरो पार्टीको के अवस्था भयो तपाईंहरुले देख्नुभयो, एउटा पनि सीट जित्न सकेन । कम्युनिष्ट पार्टी फुटेपछिको दु:ख हामी सबैले बुझेका छौं । कान्तिपुर अनलाईनबाट

Facebook Comments