२०८३ श्रावण २८, बिहीवार

देउवा पाँच महिनापछि स्वदेश फिर्ता

फोटो : रासस

       

भिओके समाचार/काठमाण्डू ।  नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पाँच महिनापछि उपचार सकेर आज स्वदेश फर्किनुभएको छ । सिङ्गापुरमा स्वास्थ्य उपचार गराएर दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नुभएका देउवाले आफ्नो राजनीतिक अनुभव पार्टी र मुलुकले उपयोग गर्नुपर्ने बताउँदै परिवर्तनलाई विवेक, पारदर्शिता र न्यायका आधारमा अघि बढाउन आग्रह गर्नुभएको छ ।

स्वदेश फर्किएलगत्तै अपिल जारी गर्दै देउवाले आफ्नो स्वास्थ्यप्रति चासो र शुभेच्छा व्यक्त गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । आफू ‘विनम्र सेवक’का रूपमा सुन्न, सिक्न र समुन्नत मुलुक निर्माणको यात्रामा समर्पित हुन फर्किएको उहाँले बताउनुभएको छ ।

देउवाले नेपाली कांग्रेसको लोकतान्त्रिक इतिहास र विगतका राजनीतिक संघर्षलाई स्मरण गर्दै आफ्नो राजनीतिक अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नु दायित्व भएको उल्लेख गर्नुभएको छ । युवा पुस्तालाई अघि बढाउनुपर्ने भए पनि पुराना र अनुभवी पुस्तालाई खराब देखाउने धारणा बनाउन नहुने उहाँको भनाइ छ ।

पार्टीभित्र निराशा देखिएको भन्दै उहाँले नेता तथा कार्यकर्ताको मनोबल बढाउँदै पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभएको छ । विगतमा माओवादी सशस्त्र द्वन्द्वदेखि विभिन्न जटिल राजनीतिक घटनाक्रम र कांग्रेसभित्रका विवाद समाधानमा आफूले खेलेको भूमिकाको अनुभव आगामी पुस्तालाई हस्तान्तरण गर्ने उहाँले बताउनुभएको छ ।

देउवाले पछिल्लो राजनीतिक परिवर्तनलाई जनताको आकांक्षासँग जोडेर हेर्नुपर्ने उल्लेख गर्दै वर्तमान सरकारले जनताको मत र अपेक्षाको सम्मान गर्नुपर्ने बताउनुभएको छ । राजनीतिक आग्रह-पूर्वाग्रहभन्दा माथि उठेर जनताको आकांक्षा पूरा गर्ने दिशामा सरकार अघि बढ्नुपर्ने उहाँको आग्रह छ ।

उहाँले परिवर्तन सहज नहुने भन्दै परिवर्तनको बाटोमा धैर्य, साहस र दृढताको आवश्यकता पर्ने उल्लेख गर्नुभएको छ । आफूहरू अन्धाधुन्ध अघि नबढी विवेक, पारदर्शिता र न्यायका आधारमा रूपान्तरणको प्रक्रियालाई अघि बढाउने पक्षमा रहेको उहाँले बताउनुभएको छ ।

आफूहरू कतै विचलित भए सुधार गर्ने र कतै चुके पुनः उठ्ने प्रतिबद्धता व्यक्त गर्दै देउवाले आगामी राजनीतिक यात्रालाई निरन्तर सुधारको यात्राका रूपमा अघि बढाउने उल्लेख गर्नुभएको छ । तराईदेखि हिमालसम्मका नागरिकका सुझाव, अपेक्षा र आकांक्षाले आगामी यात्रालाई मार्गदर्शन गर्ने उहाँको भनाइ छ ।

उहाँले पछिल्लो युवा आन्दोलनका जायज मागलाई सम्बोधन गर्नुपर्ने धारणा आफूले त्यतिबेलै राखेको उल्लेख गर्दै युवापुस्ताले खोजेको परिवर्तनलाई आत्मसात् गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसले युवा पुस्ताले माग गरेको परिवर्तनलाई आत्मसात् गरेको र विश्व परिवर्तनसँगै अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।

देउवाले विगतका कमजोरीलाई स्वीकार गर्दै समुन्नत मुलुक निर्माणका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । विमानस्थलमा उहाँलाई स्वागत गर्न कांग्रेसका नेता तथा कार्यकर्ता पुगेका थिए ।

स्वदेश फर्किएपछि देउवाले जारी भएको अपील :

Facebook Comments