२०८३ श्रावण २८, बिहीवार

रोल्पाको कोटलबारामा भिषण पहिरो, मृत्यु हुनेको संख्या १० पुग्यो, २ जना अझै बेपत्ता

       

भिओके समाचार/रोल्पा । अविरल वर्षापछि थवाङ गाउँपालिका-५ कोटलबारामा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ । पहिरोमा परेका १४ जनामध्ये दुई जना अझै बेपत्ता छन् भने दुई जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

घटनास्थलमा पाँच जनाको शव फेला परेको थियो । पहिरोले बगाएर लगेकामध्ये पाँच जनाको शव प्युठानको स्वर्गद्वारी नगरपालिका-९ र माण्डवी गाउँपालिकास्थित माडी खोलाको किनारमा फेला परेको हो । प्युठानमा भेटिएका दुई जनाको शवको आंशिक भाग मात्र फेला परेको सुरक्षाकर्मीले बताएका छन् ।

हिरोमा परी मृत्यु हुनेमा १८ वर्षीया शान्ति पुन मगर, ६५ वर्षीय कमलबहादुर पुन मगर, ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगरलगायत छन् ।

बेपत्ता हुनेमा ८० वर्षीय अजम्बर पुन मगर र ७८ वर्षीय बलबहादुर पुन मगर छन् । उनीहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।

पहिरोमा घाइते २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्तीमगरलाई स्वास्थ्य चौकी थवाङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ । लगातार वर्षा भइरहेका कारण लेदोसहित पहिरो खसिरहेकाले खोज तथा उद्धारमा कठिनाइ भइरहेको सुरक्षाकर्मीले बताएका छन् ।

Facebook Comments