२०८३ श्रावण २५, सोमवार

प्रधानमन्त्री शाहद्वारा पहिलोपटक भारतीय राजदूतसँग एकल भेट

       

भिओके समाचार/काठमाण्डू । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग पहिलोपटक एकल रूपमा शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल-भारत सम्बन्ध, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।

यसअघि प्रधानमन्त्री शाहले विदेशी मुलुकका राजदूतहरूसँग सामूहिक रूपमा भेटवार्ता गर्नुभएको थियो । भारतीय राजदूतसँगको भेट भने उहाँले एकल रूपमा गर्नुभएको पहिलो भेट हो । भेटमा प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध र सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो ।

यसैगरी, प्रधानमन्त्री शाहसँग आजै नेपालका लागि चीनका राजदूत चाङ माओमिङले पनि भेट गर्ने कार्यक्रम रहेको छ ।

Facebook Comments