Sat. Jul 25th, 2026

भुक्तानी प्रणालीमा राष्ट्रिय परिचयपत्र अनिवार्य

राष्ट्रिय परिचयपत्र

       

काठमाण्डू । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’ खोल्ने तथा प्रयोगकर्ताको विवरण अद्यावधिक गर्ने प्रक्रियामा राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्था समेट्दै भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ मा १५औँ संशोधन गरेको छ ।

भुक्तानी प्रणाली विभागले शुक्रबार जारी गरेको परिपत्रअनुसार संशोधित व्यवस्थाबमोजिम अब भुक्तानी सेवा प्रदायकको अनुमतिप्राप्त संस्थाले नेपाली नागरिकका हकमा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसारको विवरणसमेत यकिन गरी वालेट खोल्नुपर्नेछ ।

त्यस्तै, अनुमतिप्राप्त संस्थाले २०८३ असोज मसान्तभित्र मोबाइल ‘एप्लिकेसन’ वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्रको विवरण भए वा नभएको स्वघोषणा लिनुपर्ने व्यवस्था गरिएको छ ।

निर्देशिकाअनुसार राष्ट्रिय परिचयपत्र लिएका नेपाली नागरिकले २०८३ असोज मसान्तभित्र आफ्नो वालेटमा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्नेछ । राष्ट्रिय परिचयपत्र नलिएका प्रयोगकर्तालाई भने परिचयपत्र लिएपछि विवरण अद्यावधिक गर्न प्रत्येक महिनासमेत जानकारी गराउने व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

विदेशमा बसोबास गर्ने नेपाली नागरिकले विदेशबाटै अनलाइनमार्फत आवश्यक कागजातका आधारमा विद्युतीय वालेट खोल्न सक्ने व्यवस्था यथावत् राखिएको छ । यस्ता प्रयोगकर्ताले नेपाल फर्किएको छ महिनाभित्र राष्ट्रिय परिचयपत्रको विवरण सम्बन्धित संस्थामा अद्यावधिक गर्नुपर्ने केन्द्रीय बैंकको भनाइ छ ।

यसैगरी, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने अशक्त तथा असहाय नागरिकका हकमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरबाहेक अन्य आवश्यक कागजातका आधारमा समेत वालेट खोल्न र कारोबार गर्न सकिने व्यवस्था संशोधित निर्देशिकामा गरिएको छ । रासस

Facebook Comments