Sun. May 19th, 2024

सभामुख सापकोटा भन्नुहुन्छ, ‘संसद्ले सरकारलाई सहयोग गरेन भन्ने कुरामा सत्यता छैन’

काठमाडौं, २०७७ माघ १२ गते सोमबार

सभामुख अग्निप्रसाद सापकोटाले संसद्ले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता नभएको बताउनु भएको छ ।

अन्तरपार्टी महिला सञ्जालले संसद् सुचारु गर्न माग गर्दै सोमबार बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले प्रतिनिधिसभाले कहिल्यै पनि सरकारलाई असहयोग नगरेको बताउनु भएको हो। संसद्‌मा एकदिन पनि सत्तापक्ष र प्रतिपक्ष कसैले पनि सरकारको विरोध गरेर सरकारले दिएको बिजनेसमाथि प्रभाव नपारेको सापकोटाले बताउनु भयो ।

संसद्‌मा अराजकता भयो, अनुशासन भएन भन्ने सरकारको आरोपमा कुनै सत्यता नभएको सभामुख सापकोटाले बताउनु भयो । उहाँले भन्नुभयो, ‘कुनै दिन पनि न त्यहाँ त्यस्तो नारा लाग्यो न बेल घेर्ने काम भयो । सौहार्द ढंगले व्यवस्थित ढंगले हामीले लोकतन्त्रको मूल्य मान्यता, आदर्शलाई स्थापित गर्नका लागि छलफलको वातावरण बनाउनको लागि हामीले भगिरथ मेहनत गर्यौं । हामी सबै सांसदहरु, सचिवालयका कर्मचारीहरु सबैले अहोरात्र खटेर र सबै अनुशासित भएर सदन सञ्चालन गरेका थियौं । जुन अहिले सहयोग भएन, त्यहाँ अराजकता भयो, अनुशासन भएन भन्ने कुरा आइरहेको छ त्यो सत्यमा आधारित छैन । त्यो सत्य छैन ।’ कान्तिपुर

Facebook Comments