Sun. May 19th, 2024

कोरोना विरुद्धको खोप माघ १४ गतेदेखि लगाइने, निर्धक्क खोप लगाउन स्वास्थ्यमन्त्रीको अपील

- नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो

काठमाडौं, २०७७ माघ ११ गते आईतबार

नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ । आज थप सात जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार एक पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज देशभर दुई सय ७० जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६९ हजार चार सय ५० पुगेको छ । नेपालमा आज थप चार सय तीन सङ्क्रमित निको भएका छन् ।

यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ६४ हजार एक सय ३७ पुगेको छ । हाल तीन हजार तीन सय १२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच नेपालमा कोरोना भाइरस विरुद्धको खोप माघ १४ गतेदेखि दिने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रथम चरणको खोप अभियानको विषयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले निर्धक्कसाथ खोप लगाउन अपिल गर्नुभएको छ ।

उहाँका अनुसार सातवटै प्रदेशका ६२ वटा अस्पताल र एकसय २० वटा खोप केन्द्रबाट खोप लगाउन शुरू गरिने र सो अभियानको माघ १४ गते प्रधानमन्त्री केपी शर्माले शुभारम्भ गर्नहुनेछ । माघ १८ गतेभित्र देशका तीनसयवटा खोप केन्द्रबाट खोप दिइनेछ ।

दश दिनसम्म चल्ने यस अभियानमा ४ लाख ३० हजार व्यक्तिलाई खोप दिने तयारी रहको छ । भारत सरकारले हालै दिएको ‘कोभिसिल्ड’ तीनपटकसम्म सफलतापूर्वक परीक्षण भएकाले निर्धकतापूर्वक खोप लगाउन हुन उहाँले अपिल गर्नुभएको छ ।

Facebook Comments