Thu. Apr 25th, 2024

अमेरिकाको मेरिल्याण्डका राज्य सांसद भण्डारीद्वारा दशैंलाई मान्यता दिलाउने बिल दर्ता

काठमाडौं, २०७७ माघ १० गते शनिबार

अमेरिकाको मेरिल्याण्ड राज्यको संसदको तल्लो सदन हाउस अफ डेलिगेट्सका सदस्य नेपाली मुलका ह्यारी ९एचबी० भण्डारीले राज्यमा दशैंलाई चाडको मान्यता दिलाउने बिल औपचारिक रुपमा दर्ता गराउनु भएको छ । प्रत्येक बर्ष अक्टोबर १४ लाई गभर्नरले दशैं स्मारक दिवसका रुपमा घोषणा गर्नुपर्ने प्रावधानका लागि उक्त बिल विधिवत रुपमा संसदमा दर्ता गराएको भण्डारीले बताउनु भएको छ ।

बिल दर्ता गराउँदै भण्डारीले ती हलहरुमा हिंडेका थोमस जेफर्सन र जर्ज वासिंटनहरुको याद आएको, लोकतन्त्र र विविधताको शक्ति सम्झेको तथा नेपाल र सगरमाथाको याद आएको बताउनु भएको छ । दशैं धार्मिकमात्र नभई भाइचारा सम्बन्ध र सांस्कृतिक महत्वको चाड भएकाले राज्यमा औपचारिक रुपमा मान्यता दिलाउनका लागि यो बिलका लागि पहल गरेको भण्डारीले जानकारी दिनुभएको छ ।

बिभिन्न कमिटिमा छलफल र दुबै सदनबाट पारित भइसकेपछिमात्र बिल कार्यान्वयनमा आउनेछ । यो बिल उनी नै सम्मिलित हेल्थ एण्ड गभर्मेन्ट अपरेशन कमिटिमा समेत आउनेछ ।

झण्डै एकदर्जन प्रकृया पूरा भएपछि बिल गभर्नर समक्ष जाने र गभर्नरले हस्ताक्षर गरेपछि कार्यान्वयनमा आउनेछ । तर बिलमा दुईतिहाई बहुमतबाट पारित भएमा गभर्नरले हस्ताक्षर नगरेपनि बिल कार्यान्यनमा आउने प्रावधान छ ।

हिन्दु नेपालीहरुले मनाउने दशैं अमेरिकामा रहेका नेपालीहरुले पनि हर्षोल्लासका साथ मनाउँदै आएका छन् । तर दशैंलाई सरकारी स्तरबाट मान्यता प्राप्त नभएका कारण धेरै अमेरिकनहरुलाई यो पर्वबारे जानकारी छैन । त्यसैले अमेरिकामा रहेका नेपालीहरु दशैंको टिका लगाएर बाहिर निस्कन भने हिचकिचाउँछन् ।

नयाँ पुस्ता दशैं मनाएर ढुक्कसँग बाहिर निस्कन लाज मान्ने अवस्था आएकाले अबका दिनमा यसरी लाज मान्ने होइन, आफ्नो संस्कृतिबारे गर्व गर्नसक्ने वातावरण बनाउन आफूले पहल गरिरहेको भण्डारीको भनाई छ ।

अहिलेसम्म भण्डारीले सदनमा ल्याएका ५ वटा बिल पारित भइसकेका छन् । भण्डारी अमेरिकी राजनीतिमा यो स्तरमा पुग्ने पहिलो र एकमात्र जननिर्वाचित नेपाली अमेरिकन हुनुहुन्छ । राज्यको सांसद स्तरमा भण्डारीबाहेक अहिलेसम्म कुनै पनि अरु नेपाली अमेरिकनहरु पुगेका छैनन् । खसोखास अनलाईन

Facebook Comments