Fri. Apr 3rd, 2026

इरान अझै आक्रमण गर्न सक्षम : अमेरिकी प्रतिवेदन

       

वासिङ्टन । पछिल्लो अमेरिकी गुप्तचर मूल्याङ्कनअनुसार इरानसँग अझै पनि उल्लेखनीय सैन्य आक्रमण क्षमता कायम रहेको देखिएको छ  ।

प्रतिवेदनका अनुसार अमेरिका र इजरायलले एक महिनाभन्दा अघि गरेको व्यापक आक्रमणपछि पनि इरानका करिब आधा मिसाइल प्रक्षेपण प्रणाली सुरक्षित रहेका छन् भने हजारौँ एकतर्फी आक्रमण ड्रोन अझै प्रयोगका लागि तयार अवस्थामा छन् ।

गुप्तचर जानकारीसँग परिचित एक स्रोतका अनुसार इरान अझै पनि सम्पूर्ण क्षेत्रमा ठुलो क्षति पुर्‍याउन सक्षम रहेको बताइएको छ ।

यसैगरी, इरानसँग ठुलो सङ्ख्यामा मिसाइलहरू र तटीय रक्षा प्रणालीका रूपमा प्रयोग हुने क्रुज मिसाइलहरूको उल्लेखनीय हिस्सा अझै बाँकी रहेको जनाइएको छ । यी क्षमता होर्मुज जलडमरूमध्य नियन्त्रणका लागि महत्त्वपूर्ण मानिन्छन् ।

इरानको नियमित नौसेनाका धेरै जहाजहरू नष्ट भए पनि इस्लामिक रिभोलुसनरी गार्डसँग सम्बन्धित छुट्टै नौसैनिक बलले अझै करिब आधा क्षमता जोगाइराखेको बताइएको छ । यस अन्तर्गत सयौँदेखि हजारौँसम्म साना डुङ्गा तथा मानवविहीन जलयानहरू बाँकी रहेका छन् ।

गुप्तचर मूल्याङ्कनले इरानले भूमिगत संरचनाहरू प्रयोग गरेर आफ्ना मिसाइल प्रक्षेपण प्रणाली सुरक्षित राख्न सफल भएको देखाएको छ । इरानले लामो समयदेखि सुरुङ र गुफाहरूको सञ्जालमा यस्ता संरचना लुकाउँदै आएको छ, जसले तिनीहरूलाई लक्ष्य बनाउन कठिन बनाएको छ ।

यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कारबाही सम्पन्न गर्न दुईदेखि तीन हप्ताको समय सीमा उल्लेख गरे पनि गुप्तचर मूल्याङ्कनको अध्ययन गरेका स्रोतहरूले उक्त समय सीमा यथार्थपरक नभएको बताउनुभएको छ ।

हालसम्म पनि इजरायल, खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगी देशहरू तथा अमेरिकी सेनाले इरानबाट हुने नियमित मिसाइल र ड्रोन आक्रमणको सामना गरिरहेका छन् । सिन्ह्वा

Facebook Comments

सम्बन्धित समाचार