Mon. May 13th, 2024

नेपाली कांग्रेसद्वारा देशभरका ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शन

काठमाडौं, २०७७ माघ ३ गते शनिबार

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभरका ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शन गरेको छ ।

प्रतिनिधिसभा विघटन र भ्रष्टाचारविरुद्ध देशव्यापी प्रदर्शन सम्पन्न भएको नेपाली कांग्रेसले जनाएको छ ।

आज नेपाली कांग्रेस भरतपुर महानगर समितिले चितवनमा आयोजना गरेको विरोधसभा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान जोगाएर मात्रै निर्वाचनमा जानु पर्ने बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले प्रतिनिधिसभा विघटन सम्बन्धी विचाराधिन मुद्दामा आफूहरुले अदालतलाई दवाव नदिएको बताउनुहुँदै अदालतलाई संविधान हेरिदिनुस् भनेर अपिल मात्र गरेको बताउनुभयो ।

नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा आयोजित विरोधसभामा ७० वर्षको संघर्षपछि बनेको संविधानको रक्षा गर्न कांग्रेस दृढ भएर उभिनुपर्ने बताउनुभयो ।

यसैगरी, काठमाडौंको बसन्तपुरमा आयोजित विरोधसभामा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिलाई सही मार्गमा हिडाउन सकिए मात्र स्थिरता र विकास सम्भव हुने भन्दै राजनीतिलाई स्थिरताको बाटोमा हिडाउन नेपाली कांग्रेस निरन्तर लागि रहने बताउनुभयो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्नुहुँदै आजको विरोध प्रदर्शन उत्साहपूर्ण सहभागिता रहेकोमा सबैमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

Facebook Comments