Sun. Apr 28th, 2024

भारतीय रक्षामन्त्री सिंहसँग परराष्ट्रमन्त्री ज्ञवालीको भेटवार्ता

काठमाडौं, २०७७ माघ ३ गते शनिबार

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर्नुभएको छ । भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा रहनु भएका परराष्ट्रमन्त्री ज्ञवालीले शनिबार बिहान भारतीय रक्षामन्त्री सिंहलाई भेट गर्नुभएको हो ।

सो भेटवार्ता नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा भेटवार्ता भएको हो । भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य पनि उपस्थित हुनुहुन्थ्यो । भेट बिहान साढे नौ बजेदेखि सुरु भएको थियो ।

कान्तिपुरका अनुसार परराष्ट्रमन्त्री ज्ञवालीसँग उल्लेखनीय भेटवार्ता भएको भारतीय रक्षामन्त्री सिंहले बताउनु भएको छ । परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटका तस्बिरहरु ट्विटरमा राख्दै सिंहले लेख्नु भएको छ, ‘भारतको नेपालसँगको सम्बन्ध केबल सरकारमा मात्रै सीमित छैन । यो सम्बन्ध दुई देशका नागरिकबाट अघि बढेको छ । भारत-नेपाल सम्बन्धले असीमित सम्भावना दिनेछ ।’

भारतीय रक्षामन्त्री सिंहले नै गत वैशाख २६ गते नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडकमार्गको उद्घाटन गरेका थिए । त्यसपछि नै नेपाल-भारत सम्बन्धमा तिक्तता देखिएको थियो । त्यसलगत्तै नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत नेपाली भूमिमा आफ्ना सबै गतिविधि रोक्न भारतलाई आग्रह गरेको थियो ।

Facebook Comments