Sun. Apr 28th, 2024

दाहाल-नेपाल समूहद्वारा देउवालाई प्रधानमन्त्री बन्न सक्ने सम्मको प्रस्ताव

काठमाडौं, २०७७ माघ १ गते बिहीबार

दाहाल-नेपाल समुहले प्रतिनिधिसभा पुनःस्थापनाका लागि संयुक्त संघर्ष गर्ने र पुनःस्थापित भएको अवस्थामा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नै प्रधानमन्त्री बन्न सक्नेसम्मको प्रस्ताव गरेको खुलासा भएको छ ।

साथै नेकपाको दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापित हुँदा र नहुँदा आइपर्ने जुनसुकै परिस्थितिका लागि पनि सहकार्य गर्न कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रस्ताव गर्नुभएको छ ।

बुधबार साँझ ६ देखि ८ बजेसम्म राजधानीमा देउवासँग भएको गोप्य भेटमा दाहाल र नेपालले संयुक्त संघर्षदेखि सत्ता-सहकार्यसम्मको प्रस्ताव गर्नुभएको हो। देउवाले दाहाल-नेपालको प्रस्ताव पार्टीको बैठकमा राख्ने र त्यहाँबाट आएको निचोडपछि फेरि छलफल गर्ने बताउनु भएको छ । दाहालले ‘तपाईंले किन यति धेरै चुनावमा जोड दिइरहनुभएको छ रु’ भनेर सोध्नु भएको थियो । जवाफमा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक काम गरेको भए पनि चुनावमा जानु लोकतान्त्रिक विधि भएको जवाफ दिनुभयो । त्यसपछि दाहालले प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक भनेर सडकमा जाँदा र सडकबाटै चुनावको वकालत गर्दा लोकतन्त्र नै धरापमा परेको भनाइ राख्नु भएको थियो ।

कान्तिपुरका अनुसार दाहाल र नेपालले ओलीको असंवैधानिक कदमको साझेदार बन्नुभन्दा बरु जस्तोसुकै परिस्थितिमा पनि आफूहरूसँग सहकार्य गर्न देउवालाई आग्रह गर्नुभएको सम्बद्ध स्रोतको भनाइ छ । उहाँहरूले संयुक्त मोर्चा बनाएर सँगै आन्दोलनमा जान पनि देउवालाई प्रस्ताव गर्नुभएको थियो । तर देउवाले सकारात्मक जवाफ नदिएपछि अब कस्तो परिस्थिति आउँदा कुन हिसाबले सहकार्य गर्ने भनेर कुराकानी भएको हो ।

Facebook Comments