Sun. May 19th, 2024

माओवादी सिद्धान्त मान्ने तीन राजनीतिक पार्टीबीच एकता

काठमाडौं, २०७७ पुस २७ गते सोमबार

माओवादी सिद्धान्त मान्ने तीन राजनीतिक पार्टीबीच एकता सम्पन्न भएको छ ।

कर्णजीत बुढाथोकी‘शुसिल’ अध्यक्ष रहेको नेकपा (माओवदी केन्द्र),सुमन श्रेष्ठ ‘जितेन्द्र’ अध्यक्ष रहेको माओवादी जनमुक्ति पार्टी, नारायण थापा संयोजक रहेको नेकपा संयुक्त (क्रान्तिकारी) पार्टीहरुको एकता भएको हो । राजधानीको संवाद डबलीमा आईतबार एकता घोषणा कार्यक्रम आयोजना गरेर ती पार्टीहरुले एक भएको जनाकारी दिएका हुन् ।

एकीकरण पछिको पार्टीको नाम नेकपा (माओवादी केन्द्र) नै रहने आयोजित कार्यक्रममा जानकारी गराइयो । सो कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष बुढाथोकीले भन्नुभयो,“चल्तिका पार्टीहरुले सत्ताको लागि मात्र राजनीति गर्ने गरेका छन्, तर हामी सही संस्कारको लागि राजनीति गर्छौं ।” केही मानिसले आन्दोलन छाड्दैमा माओवादी सिद्धान्त कहिल्यै असफल नहुने बताउँदै, प्रचण्ड, बाबुरामहरुले जनतालाई धोका दिएपनि आफूरुले जनताको बीचबाटै, उनीहरुलाई ब्यवस्थापन गर्दै वैज्ञानिक समाजवादको अभ्यास गरिने बताउनु भयो ।

कार्यक्रममा बोल्दै एकीकरण भएको माओवादी जनमुक्ति पार्टीका अध्यक्ष सुमन श्रेष्ठले आफ्नो पार्टीले जन-संघर्ष हुँदै स-शस्त्र संघर्षबाट भएपनि जनतालाई मुक्ति दिलाउने सत्ताशीन पार्टीहरु र सरकारलाई चुनौति दिनुभयो ।

एकीकरण भएका संयुक्त क्रान्तिकारी पार्टीका संयोजक नारायण थापाले नेपालको कम्युनिष्ट आन्दोलनमा भइरहेको विचलन् र विसर्जनका श्रृङ्खलालाई रोक्न आफूहरु एक भएको धारणा व्यक्त गर्नुभयो । सो पार्टीका वरिष्ठ नेता तिलक थापाले अहिलेका सत्ताधारीहरुले भनेको समाजवाद निजिकरणलाई प्रोत्साहन गर्ने समाजवाद हो भने आफूहरुले भनेको समाजवाद सामुहिकता र सबै जनतालाई समेटेर प्रोत्साहन गर्ने समाजवाद भएको धारणा व्यक्त गर्नुभयो ।

वरिष्ठ नेता थापाले नेपालको संविधान अनुसार कुनै पनि दललाई प्रतिबन्ध लगाउन नपाइने तर विप्लव नेतृत्वको नेकपालाई लगाएको प्रतिबन्ध संविधान विपरित भएकोले सो प्रतिबन्ध फूकुवा गर्नु पर्ने माग गर्नुभयो ।

एकीकरण घोषणा कार्यक्रम वरिष्ठ नेता तिलक थापाको अध्यक्षता र महासचिव नरेश शाहीको संचालनमा सम्पन्न भएको थियो भने कार्यक्रममा सुरेन्द्र दाहाल र छविलाल तिवारीले सहिदहरुप्रति समर्पित गीत प्रस्तुत गर्नुभएको थियो ।

तीन पार्टी एकता भएको कार्यक्रममा तीनै पार्टीद्वारा तयार पारिएको प्रेस विज्ञप्ति पत्रकार र सहभागिहरुलाई वितरण गरिएको थियो । आईतबारै सो पार्टीको काठमाडौं जिल्ला भेला सम्पन्न भई कमिटिसमेत निमार्ण गरिएको छ । जस अनुसार अध्यक्ष गणेश बहादुर गोतामे, सचिब लेखनाथ पौड्यालसहित ५१ सदस्यि काठमाडौं जिल्ला कमिटी निर्माण गरेको छ ।

Facebook Comments