जनकल्याण मा वि मा एकै दिन दुईवटा अक्षयकोष स्थापना
भिओके समाचार/विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर ७ स्थित जनकल्याण माध्यमिक विद्यालयले स्थापनाको ४७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ।
पालिकाकै अग्रणी र्शैक्षिक संस्थाको परिचय बनाएको उक्त विद्यालयले आज एक भव्य समारोहको आयोजना गरी सोे कार्यक्रम सम्पन्न गरेको हो ।
बि।सं। २०३५ सालमा स्थापना भएको उक्त विद्यालयले पञ्चायतकालमा मोरङको झोडा आन्दोलन भएका क्षेत्रका सुकुम्बासी तथा कोशी टप्पुको सट्टाभर्ना पाएर तत्कालिन बयरबन गाउँ पञ्चायतको रमाइलो झोडा क्षेत्रमा बसोबास गर्ने किसानका छोराछोरीको शिक्षालाई ध्यानमा राखी प्राथमिक तहको शिक्षा दिन थालेको उक्त विद्यालय हाल माध्यमिक तहसम्म सञ्चालन हुँदै आएको छ।
प्रत्येक वर्ष फागुन १२ गते वार्षिकोत्सव मनाउने यस विद्यालयले वार्षिक कार्यक्रममा अध्ययनरत विद्यार्थीहरू र विद्यार्थीका अभिभावकहरूको सक्रिय सहभागिता गराउन विभिन्न कार्यक्रमको समेत आयोजना गर्ने गर्दछ । विद्यालयका प्रधानाध्यापक पुष्प सुवेदीले वार्षिक प्रगति प्रतिवेदन र भावी कार्यक्रमको संक्षिप्त रूपरेखा प्रस्तुत गर्दै सुरु भएको वार्षिकोत्सवमा विद्यालयले वार्षिक उत्सवको अवसर पारेर आयोजना गरेका विभिन्न स्पर्धाहरूमा बिजेता भएका विद्यार्थीहरू तथा उत्कृष्ट अभिभावक र उत्कृष्ट वर्ष शिक्षकलाई समेत पुरस्कृत तथा सम्मान गरिएको थियो ।
सम्मानित हुने वर्षभरीका उत्कृष्ट शिक्षक नगेन्द्र कोइराला सामाजिक विषयका शिक्षक हुनुहुन्छ भने, उत्कृष्ट अभिभावक कानेपोखरी ७ निवासी राजेशचन्द्र खनाल हुनुहुन्छ ।
यसैक्रममा विद्यालयको पुस्तकालयमा महत्वपूर्ण योगदान गर्नुभएका रमादेवी फाउण्डेसनका संरक्षक तथा विद्यार्थीहरूको शैक्षिक उन्नतीका लागि योगदान गर्न स्थापना भएको एसएलसी व्याच २०५५, जसले विद्यालयमा एक लाख चालिस हजार धनराशिको अक्षयकोष स्थापना गरेको छ सो व्याचलाई समेत सम्मान गरिएको छ ।
पछिल्लो समयमा यस विद्यालयमा शैक्षिक उन्नयनका लागि धेरै स्थानीय समाजसेवीहरुले अक्षयकोष स्थापना तथा अन्य भौतिक योगदान गर्ने चलन बढेको छ। विगतमा स्थापित जानुका देवी स्मृति अक्षयकोष, रमादेवी फाउण्डेसन, एसएलसी व्याच २०५५ अक्षयकोष, राधारमण स्मृति अक्षयकोष जस्ता विभिन्न दाताहरूले स्थापना गरेका अक्षयकोषले विभिन्न विधामा उत्कृष्ट तथा गरीव एवम जेहनदार विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरेका छन।
यसैक्रममा आजै दुईवटा अक्षयकोष समेत स्थापना भएका छन। यसै विद्यालयमा कार्यरत शिक्षिका अम्बिका दाहाल र वहाँकी सुपुत्रीले दिवङ्गत पति तथा छोरीको ( पिता तथा अनुजा) नाममा १ लाख १ हजार १ सय ११ रुपैयाँ धनराशिको काशीनाथ कमला दाहाल स्मृति अक्षयकोष स्थापना गर्नुभएकोछ भने, सोही विद्यालयबाट गत वर्ष निवृत्त हुनुभएका शिक्षक केवलराम कोइरालाले मातापिताको स्मृतिमा रू। एकलाख एघार हजार एक सय एघार धनराशीको गंगाराम( शुभद्रा स्मृति अक्षयकोष स्थापना गर्नुभएको छ।
कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोलाप्रसाद अधिकारीको प्रमुख आतिथ्य रहेको उक्त समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ खनालको सभापतित्वमा सञ्चालन भएको थियो। विशिष्ट अतिथि मोहन प्रसाद अधिकारी तथा कानेपोखरी शिक्षा शाखा अधिकृत रमेश काफ्लेले विद्यालयले गरेका विविध कार्य र प्राप्त उपलब्धिहरू एवम अक्षयकोष स्थापना गर्ने दाताहरूको योगदानको खुलेर प्रशंसा गर्नुका साथै यस प्रकारका कार्यक्रमले शिक्षाको गुणस्तर वृद्धि गर्न मद्दत पुग्ने विचार समेत व्यक्त गर्नुभयो।

