भारतमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ जना पुग्यो
मुम्बई। पूर्वी भारतीय राज्य झारखण्डमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको अधिकारीहरूले मङ्गलबार बताएका छन् । नागरिक उड्डयन महानिर्देशनालय (डिजिसिए)ले “मेडिकल निकासी (एयर एम्बुलेन्स) उडान” सञ्चालन गर्ने बिचक्राफ्ट सी-९० सोमबार पूर्वी राज्य झारखण्डको कसारिया क्षेत्रमा दुर्घटना भएको पुष्टि गरेको छ ।
उद्धार र चिकित्सा टोली दुर्घटना स्थलमा पुगेका छन् भने, स्थानीय मिडियाले दुर्घटना स्थल दुर्गम जङ्गलभित्र रहेको जनाएका छन् । “डाक्टरको टोलीले उनीहरूलाई फेला पारी परीक्षण गरेर मृत घोषणा गरेको स्थानीय प्रशासनिक अधिकारी कीर्तिश्री जीले पत्रकारसँगको साक्षातकारमा बताउनुभयो ।
उहाँका अनुसार मृत्यु हुने सात जना मध्ये दुई जना चालक दलका सदस्य थिए । डिजिसिएले सोमबार राति रेडबर्ड एयरवेजद्वारा सञ्चालित विमानले मौसमका कारण सन्तुलन गुमाएको जनाकारी गराएको २३ मिनेटपछि हवाई ट्राफिक राडारसँग सम्पर्क गुमाएको बताइएको छ । भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरोलाई अनुसन्धानका लागि घटना स्थलमा पठाइएको जनाइएको छ । एएफपी

