Sat. May 4th, 2024

नेपाल-इन्डोनेसिया उडान तयारी

काठमाडौं, २०७७ पुस २६ गते आईतबार

गरुडा इन्डोनेसिया एयरलाइन्सले नेपालमा सिधा उडान गर्ने भएको छ । उडानका लागि गरुडाले नेपालमा सोसाइटी इन्टरनेसनल ट्राभललाई जनरल सेल्स एजेन्ट (जीएसए) तोकेको छ ।

सोसाइटीका अध्यक्ष रविचन्द्र सिंहले आगामी जुलाईदेखि काठमाडौं-बाली-अस्ट्रेलिया उडान हुने बताउनु भयो । उहाँका अनुसार गरुडा इन्डोनेसियाले वाइडबडी विमानबाट सातामा चार दिन उडान गर्ने तयारी गरिरहेको छ ।

कान्तिपुरका अनुसार नेपाल र इन्डोनेसियाबीच हवाई सम्झौता गर्ने तयारी भइरहेको छ । इन्डोनेसियाले गत वर्ष गरेको प्रस्तावमा नेपालले अध्ययन गरिरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हालसम्म नेपालले ४० वटा मुलुकसँग हवाई सम्झौता गरिसकेको छ तर नेपालमा १४ वटा मुलुकका २८ वटा विदेशी तथा नेपालका तीनवटा वायुसेवाले मात्रै अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् ।

कोभिडका कारण अन्तर्राष्ट्रियतर्फका नियमित उडान पूर्ण रूपमा सञ्चालनमा भने आइसकेका छैनन् । हाल प्राधिकरणले नेपालीसहित २० वटा वायुसेवालाई मात्रै हिउँदे यामको उडान अनुमति दिएको छ तर यात्रु अभावका कारण वायुसेवाहरूले उडान संख्या कटौती गरेका छन् ।

Facebook Comments