Thu. Apr 18th, 2024

बोइङ् ७३७ म्याक्स: विवास्दापद विमानको सूचना लुकाएको मुद्दामा बोइङ दुई अर्ब ५० करोड डलर तिर्न तयार

काठमाडौं, २०७७ पुस २५ गते शनिबार

विवादास्पद विमान ७३७ म्याक्सको डिजाइनबारेको जानकारी सुरक्षा अधिकारीलाई नबताएको सम्बन्धी आपराधिक मुद्दा टुङ्गो लगाउन विमान निर्माता बोइङ दुई अर्ब ५० करोड अमेरिकी डलर तिर्न सहमत भएको छ।

अमेरिकी न्याय मन्त्रालयले सो कम्पनीले नाफालाई ध्यान दिँदा विमानमा कमजोरी रहेको र त्यसका कारण दुई घातक दुर्घटना हुन गएको बताएको छ।

सो पैसामध्ये ५० करोड डलर जति ती दुर्घटनामा मारिएका ३४६ जनाको परिवारले पाउने बताइएको छ।

बोइङले सो सहमतिले कम्पनीले गर्नुपर्ने नगरेको देखाएको बताएको छ।

बोइङका प्रमुख कार्यकारी डेभिड काल्हुनले भने: “मलाई लाग्छ यो सहमतिमा पुग्नु सही कुरा हो। हामी आफ्नो मान्यता र कम्पनीप्रतिको अपेक्षामा चुकेको भनेर स्वीकार गर्ने एउटा कदम हो।”

न्याय मन्त्रालयले बोइङका अधिकारीहरूले विमानको स्वचालित उडान नियन्त्रण प्रणालीमा गरेको परिवर्तनका बारेमा जानकारी लुकाएको बताएको छ।

सो प्रणालीको कमजोरीका कारण सन् २०१८ मा इन्डोनेशिया र सन् २०१९ मा इथियोपियामा ती विमानहरू दुर्घटनामा परेका थिए।

सो सूचना लुकाइएका कारण विमान चालकहरूको पुस्तिकामा सो कहिलेकाहीँ गलत तथ्याङ्कका कारण गलत काम गर्ने प्रणालीका बारेमा जानकारी नभएको बताइएको छ।

न्याय मन्त्रालयले बोइङले छ महिनासम्म अनुसन्धानमा सहयोग नगरेको बताएको छ।

इथियोपियामा भएको दुर्घटनामा मारिएकाहरूको परिवारका वकिलहरूले भने यो सहमतिले आफ्नो देवानी मुद्दालाई असर नगर्ने बताएका छन्। विविसी

Facebook Comments