Sat. Apr 27th, 2024

लोकतन्त्रमा कुनै खतरा आउँदैन, वैशाखमा निर्वाचन हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं, २०७७ पुस २४ गते शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको गणतन्त्र, लोकतन्त्रका लागि आफू ५० वर्ष संघर्ष गरेकाले त्यसमा कुनै खतरा नआउने प्रष्ट पार्नुभएको छ ।

नेकपा सुदूरपश्चिम स्तरीय बृहत् आमसभालाई शुक्रबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभयो । आफू लोकतन्त्र र गणतन्त्रका लागि लामो संघर्ष गरेर आएको व्यक्ति भएकाले त्यस्तो कल्पना पनि नगर्न सबैमा आग्रह गर्नुभयो । सरकारको कदम असंवैधानिक हो भन्नेहरुलाई संविधान पढ्न उहाँले आग्रह गर्नुभयो ।

देश र जनताको पक्षमा काम गर्न दिएनन् त्यसैले विकल्पका लागि नयाँ जनादेशमा जाने निर्णय गरिएको हो प्रधानमन्त्री ओलीले भन्नुभयो, “अन्तर्राष्ट्रिय प्रचलन, संविधान र जुन हिसाबले पनि प्रतिनिधिसभा पुनःस्र्थापना हुँदैन, अब चुनावबाटै गठन हुन्छ ।” चुनाव तोकिएकै मिति वैशाख १७ र २७ गते हुने उहाँले विश्वास दिलाउनुभयो । चुनाव तोकिएकै मितिमा हुने भएकाले निर्वाचन अभियानमा लाग्न उहाँले सबैमा आग्रह गर्नुभयो ।

विकासको जिम्मा लिन्छु
विरोधीलाई केही गर्नुपर्दैन, जनताले भोट नहाले पुग्छ प्रधानमन्त्री ओलीले भन्नुभयो, “देशको पक्षमा, जनताको पक्षमा काम गर्नेलाई भोट दिएर जिताएर पठाउनुस् ।” तपाईहरु राम्रो मानिस जिताएर पठाउनुस्, देश विकास गर्ने जिम्मा म लिन्छु उहाँले भन्नुभयो । यो सरकारले गरेको विकासको काम तपाईहरु सबैले देख्नुभएको छ भन्नुहुँदै प्रधानमन्त्री ओलीले थप विकासको काममा आफू लागिपरेको बताउनुभयो ।

मिल्नै नसक्ने के पर्यो ?
सँगै रहेका नेताहरुलाई पार्टीमा मिल्नै नसक्ने के त्यस्तो अवस्था आयो अध्यक्ष ओलीले प्रश्न गर्नुभयो । म राजनीतिमा २०२२ सालदेखि लागेको हुँ, माधवकुमार नेपाल २०३२ सालमा लाग्नुभयो अनि को सिनियर हो मूल्याङ्कन गर्नुस् उहाँले भन्नुभयो । पार्टी महाधिवेशनमा आफूसँग अध्यक्ष पदमा पराजित भएका नेता नेपाललाई अध्यक्षको मोह पलाएकाले पार्टी फुटमा गएको उहाँले टिप्पणी गर्नुभयो ।

“चोइटिएर जानेहरुलाई म भन्न चाहन्छु दुई अङ्कमा सिट ल्याएर देखाउनुस्, देशभरीमा दश सिट ल्याएर देखाउनुस्” प्रधानमन्त्री ओलीले भन्नुभयो, “यो पार्टी सम्धी, छोरीबुहारीवाला पार्टी होइन, देश बनाउने र जनताको पार्टी हो ।” आफन्त नभएका कोही पनि हुँदैनन्, तर टपक्क टिप्दै राख्नु ठीक होइन, मैले त्यसो गरेको छैन उहाँले भन्नुभयो । कसकसका आफन्त कहाँ कहाँ छन, सबै थाहा छ भन्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “पचास वर्षअघि नयाँ एकताको अभियान थालनी गरेर आएको व्यक्ति हुँ, काम लाग्छ कि भनेर पार्टीमा प्रचण्डलाई पनि ल्याएर आएको थिएँ ।”

अँध्यारोमा उड्ने, हिंड्ने बानी लागेकाहरु घाम लागेपछि टिक्न सक्दैनन् प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस क्षेत्रमा लाटाकोसेराहरु टिक्न सक्दैनन् ।” भ्रमको खेती गरेर अब कोही अघि बढ्न नसक्ने भन्नुहुँदै उहाँले जनता सचेत भइसकेको बताउनुभयो ।

नेपाली भूभाग फिर्ता हुन्छ
कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूभाग भएकाले त्यसलाई ससम्मान फिर्ता लिने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाउनुभयो । नेपाली भूभाग समावेश गरेर नयाँ नक्सा प्रकाशन गरिएपछि देशभित्रकै नक्कली राष्ट्रवादीहरुलाई पीर परेको भन्नुभयो । सुदूरपश्चिममा एउटै मन्त्रिमण्डलमा चार जना मन्त्री हुनुभएको छ, सायद यो नेपालको इतिहासमा पहिलो होला, सुदूरपश्चिमको विकास गर्न अवसर प्रदान गरिएको उहाँले प्रष्ट पार्नुभयो ।

विकासको काम भएको छ
हरेक नेपालीले प्राथमिक स्वास्थ्य उपचार निःशुल्क प्राप्त गर्नुपर्छ भन्ने व्यवस्थामा सरकार लागेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री अ‍ोलीले सरकारको ध्यान देशमा उद्योगको स्थापना गर्ने, आफूलाई चाहिने सामान आफैले उत्पादन गर्नेमा रहेको बताउनुभयो । “हामी कुरामात्र गरिरहेका छैनौं, कामबाट पुष्टि गरिरहेका छौं, एक वर्षमा ९७९ किलोमिटर बाटो कालोपत्रे गर्यौं” प्रधानमन्त्री ओलीले भन्नुभयो, “जुन प्रदेशको सरकार प्रभावकारी छ, त्यहाँ काम देखिएको छ, प्रभावकारी प्रदेश सरकार नभएको ठाउँमा कामको गति धिमा छ ।”

विकास निर्माणका लागि लगानीको कुनै समस्या नहुने विश्वास दिलाउनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रो ध्यान देश विकास गर्नेमा छ, देश र जनताको हितमा छ ।” विकास अभियानमा नेपाली जनताले आफूलाई पूर्ण सहयोग दिएको भन्नुहुँदै जनतालाई धन्यवाद ज्ञापन गर्नुभयो । उत्तरी छिमेकी मुलुकसँग जोडिन अनेक नाकाहरु खोलिने क्रममा रहेको उहाँले चर्चा गर्नुभयो ।

सुदूरपश्चिम हामी बनाउँछौ
सुदूरपश्चिम प्रदेशलाई विगतमा पछाडि पार्ने काम भयो, तर अब कुनै शक्तिले पछाडि पार्न सक्नेछैन, हामी बनाउँछौं उहाँले भन्नुभयो । सुदूरपश्चिमको पीडा आफूलाई जानकारी भएको बताउनुहुँदै उहाँले भन्नुभयो, “यहाँ गरिबी, पछौटेपन, स्वास्थ्य समस्या, बेरोजगारी, सुकुम्बासी, सिँचाइको समस्या छ, त्यसको लागि काम गरिनेछ ।” चाँदनी–दोधाराको सिंचाइको काम भइरहेकाले त्यो चाँडै सम्पन्न हुने बताउनुभयो ।
पञ्चेश्वर परियोजना पनि अगाडि बढिसकेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “गेटाको मेडिकल कलेज र विश्वविद्यालयका रुपमा विकास गर्दैछौं, अत्तरिया–धनगढी बाटो चाँडै सम्पन्न हुन गइरहेको छ ।” त्यस्तै विमानस्थलको क्षमता वृद्धि गर्ने काम अघि बढिरहेको, गौरीफन्टा नाका विस्तार गर्न भारतसँग कुरा भइरहेको बताउनुभयो ।

सेती लोकमार्ग, महाकाली करिडोरको काम अघि बढिरहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “बैतडीमा फस्फोरस खानी पत्ता लागेको छ, त्यसको उत्खननमा सरकारले ध्यान दिएको छ, पश्चिम सेती जलविद्युत आयोजना विभिन्न कारणले अवरुद्ध हुनपुग्यो, अब त्यो परियोजना अगाडि बढाउनेछौं ।” कञ्चनपुरको दैजीमा उद्योग स्थापना गर्ने तयारी भएको उहाँले चर्चा गर्नुभयो ।

महाकालीमा पुल निर्माणाधीन अवस्थामा रहेको, दार्चुला, वैतडी, डडेल्धुरामा झोलुङ्गे पुल निर्माण भइरहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले यहाँका बाटाघाटा, एयरपोर्ट विकास र अन्य विकासको काम शुरुभइरहेको बताउनुभयो । ओझेलमा परेका विकासका काम अब धमाधम अघि बढ्ने उहाँले विश्वास दिलाउनुभयो । देशमा सुशासन कायम गरी नेपाली जनतालई सुखी नेपाली बनाउने भएकाले सरकारले समृद्ध नेपाल र सुखी नेपालको नारा तय गरेको बताउनुभयो ।

पार्टी छाडेर भागेका भगौडाहरुको कुरा नसुन्न आग्रह गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “पार्टीको बैठकमा नआएर सडकमा गएर ‘हामी यहाँ छौं’ भनेर सार्वजनिक हुन्छन् ।” हामीलाई दन्तबझान गर्न फुर्सद छैन, देशको विकासको काम गर्नुछ भन्नुहुँदै प्रधानमन्त्री ओलीले देश विकास अभियानमा लाग्न सबैमा आव्हान गर्नुभयो ।

यो देश थारुको पनि हो
तराईका आदिबासी थारु इमानदार जातिमध्ये भएकाले यो देश थारुको पनि हो भन्नुहुँदै प्रधानमन्त्री ओलीले थारुजस्तै यहाँ बस्ने सबै जातजाति र समुदायको साझा देश नेपाल भएको बताउनुभयो । सबैको एकता विना विकास सम्भव नरहेको चर्चा गर्नुहुँदै उहाँले भन्नुभयो, सबै मिलेर विकास गरौं । पहिचानवादी शक्तिहरु विभिन्न नाममा फाटो ल्याउन खोजेको भन्दै उहाँले सचेत रहन आग्रह गर्नुभयो ।

टीकापुर घटना दुःखद भएको र थारु समुदायका अहिले पनि केही व्यक्ति जेलमा रहेकोप्रति आफू दुःखित रहेको बताउनुभयो । गोरखापत्र

Facebook Comments