Tue. May 21st, 2024

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा हार स्वीकार, शान्तिपूर्ण र विधिपूर्वक रुपमा सत्ता हस्तान्तरण गर्ने प्रतिवद्धता

काठमाडौं, २०७७ पुस २४ गते शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनमा भएको हिंसात्मक प्रदर्शनले आफूलाई आक्रोशित बनाएको बताउनु भएको छ।

बुधबार सुरु भएको हिंसात्मक प्रदर्शनलाई रोक्न आफूले तत्काल नेसनल गार्ड र संघीय सुरक्षा निकायलाई परिचालन गरेको पनि ट्रम्पले दाबी गर्नुभयो ।

‘अमेरिका सधैँ कानुन र व्यवस्थाको देशका रुपमा रहेको छ । क्यापिटल हिल्समा भएको हिंसात्मक प्रदर्शन र आक्रमणमा सहभागी व्यक्तिले अमेरिकालाई प्रतिनिधित्व गर्दैनन् । तिनीहरुले त्यसको मूल्य चुकाउनुपर्छ,’ ट्रम्पले ट्विटरमा भिडियो पोस्ट गर्दै भन्नु भएको छ ।

अमेरिकामा भर्खरै सनसनीपूर्ण चुनाव भए पनि त्यसलाई अब शान्त पार्नुपर्ने पनि राष्ट्रपति ट्रम्पले बताउनु भयो। आफ्नो चुनावी क्याम्पेनले सधैँ अमेरिकी प्रजातन्त्रका लागि लडेको र मतदाताको वैधताका बारेमा प्रश्न उठाएको पनि उहाँले बताउनु भयो । डेमोक्रेटिक सांसदहरुले ट्रम्पले हिंसालाई उक्साएको र अझै उक्साउन सक्ने उल्लेख गर्दै अमेरिकी संविधानको २५औं संशोधनमार्फत उहाँलाई हटाउनुपर्ने माग गरिरहेका बेला ट्रम्पको वक्तव्य आएको हो । ट्रम्पको कार्यकाल सकिन १३ दिन मात्रै बाँकी रहेको छ ।

अहिलेसम्म चुनावमा धाँधली भएको आधारहीन दाबी गर्दै आउनु भएका ट्रम्पले यस पटक भने आफ्नो हार स्वीकार गर्नुभएको छ । भविष्यमा हुने चुनाव निष्पक्ष रुपमा हुने विश्वास व्यक्त गर्दै ट्रम्पले भन्नु भएको छ, ‘कंग्रेसले चुनावी नतिजा प्रमाणित गरिसकेको छ । अब नयाँ प्रशासनले जनवरी २० मा आफ्नो जिम्मेवारी सम्हाल्दैछ । अब मेरो सबै ध्यान शान्तिपूर्ण र विधिपूर्वक रुपमा सत्ता हस्तान्तरमा केन्द्रित हुनेछ ।’

Facebook Comments