Sat. Apr 20th, 2024

क्षेत्रपाटी निःशुल्क चिकित्सालयको निर्माणधीन भवनका लागि सात लाख सहयोग !

काठमाडौं, २०७७ पुस २१ गते मंगलबार

नत स्थायी न गतिलो काम, न मनग्य आम्दानी नत आफै बस्ने गतिलो भवन ! तर पनि मन भए पछि मान्छेले गतिलो काम गर्न सक्छन् भन्ने कुराको वलियो उदाहारण बन्नु भएको छ काठमाडौं शोभा भगवतीका सामान्य फूलपाती बेच्ने व्यवसायी सानी कपाली र कृष्ण गोपाल रञ्जितकार ।

आफ्नो गतिलो जिविकोपार्जनको आधार केही पनि नभएका कपाली र रञ्जितकारले बुबा सुकुमान कपाली, मुमा प्रेम कुमारी कपाली र दिदी मैंया कपालीको सम्झनामा काठमाडौं क्षेत्रपाटीस्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालयको निर्माणधीन माऊ बद्री भवनका लागि सात लाख रुपैया आर्थिक सहयोग  गरेर  समाजसेवाको उत्कृष्ट नमूना पेश गर्नुभएको छ ।

स्थानीय वासिन्दाहरुलाई सहज, सुलव र नि:शुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको क्षेत्रपाटी निःशुल्क चिकित्सालय व्यवस्थापन समितीले सोमबार एक समरोहबीच दु्वै सहयोगदाताहरुलाई सम्मान तथा धन्यवाद ज्ञापन गरेको थियो । सो समारोहमा बोल्नुहुँदै चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले जनतालाई नि:शुल्क स्वास्थ्य सेवा पुग्न सकोस भन्ने पवित्र उद्धेश्यले सानी कपाली र कृष्ण गोपाल रञ्जितकारले प्रदान गर्नु भएको आर्थिक सहयोग सिंगो समाजको लागि उत्कृष्ट नमूना भएको बताउनु भयो ।

डा. श्रेष्ठले भन्नु भयो, ‘संसारमा मन भन्दा ठूलो केही छैन भन्ने कुराको उदाहारण सानी कपाली र कृष्ण गोपाल रञ्जितकारले पेश गर्नुभएको छ । हामी उहाँहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछौं ।’

सानी कपाली र कृष्ण गोपाल रञ्जितकारको परिवार विगत ३० वर्ष भन्दा लामो समयदेखि शोभा भगवती मन्दिर छेउमा फूलपातीको सानो पसल चलाउदै आएको छ ।

Facebook Comments