Wed. May 13th, 2026

निवर्तमान मन्त्री खरेलद्वारा ललितपुर क्षेत्र नं २ मा उम्मेदवारी दर्ता   

       

पाटन (ललितपुर) । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले ललितपुरको सातदोबाटोस्थित ओलम्पिक कमिटीको भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दर्ता गराउनुभएको हो ।

खरेल गत भदौ २३ र भदौ २४ गतेको गतेको जेनजी आन्दोलनपछि बनेको गैरदलीय नागरिक सरकारमा मन्त्री बन्नुभएको थियो भने सोमबार साँझ मन्त्री पदबाट राजिनामा दिएर चुनावी मैदानमा होमिनुभएको हो ।

यसैगरी यहाँ नेकपा (एमाले) का तर्फबाट निवर्तमान प्रतिनिधिसभा सदस्य प्रेम महर्जन र नेपाली कांग्रेसका तर्फबाट प्रेमकृष्ण महर्जनले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, नेपाली कम्युनिस्ट पार्टीकातर्फबाट राजेन्द्र अमात्य, उज्यालो नेपाल पार्टीबाट राजाराम तण्डुकार, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट कृष्ण महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापा, नेकपा (माओवादी)बाट अष्टराज बज्राचार्य, नेमकिपाबाट चिरीमैयाँ महर्जन, नेकपा (संयुक्त) का रमेश आचार्य, राष्ट्रिय मुक्ति पार्टीका डोलेन्द्रराज भट्टराई र मङ्गोल नेशनल अर्गनाइजेसनका कृष्ण महर्जनले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिनुहुँदै निवर्तमान मन्त्री खरेलले नागरिकमा छाएको निराशालाई सम्बोधन गर्दै युवालाई देशभित्रै अवसर र रोजगारीको सिजना गर्नका लागि कानुनी र नीतिगत प्रबन्धमा योगदान गर्न आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । रासस

Facebook Comments