Mon. Apr 29th, 2024

अस्वस्थ चक्रव्यूहमा देशलाई फँस्न नदिन प्रतिनिधिसभा विघटन गरेको हुँः प्रधानमन्त्री ओली

काठमाडौं, २०७७ पुस १८ गते शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा आलीले अस्वस्थ चक्रव्यूहमा देशलाई फँस्न नदिन प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको घोषणा गरिएको बताउनुभएको छ ।

नेकपा काठमाडौंद्वारा शनिबार प्रज्ञा भवन कमलादीमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । विद्यमान व्यवधान र अडचनबाट मुक्त हुन नयाँ जनादेशमा जाने निर्णय भएको उहाँले प्रष्ट पार्नुभयो । “मुद्दा लड्न पाइन्छ तर प्रधानमन्त्रीको अधिकार प्रयोग गरेर विघटनको सिफारिस गरिएको हो, संसद पुनःस्थापना सम्भव छैन” उहाँले भन्नुभयो ।

बेलायतमा पनि त्यही दृष्टान्त रहेको उहाँले प्रष्ट पार्नुभयो । संसदीय व्यवस्था भएको देशमा यो स्वाभाविक व्यवस्था भएको उहाँले चर्चा गर्नुभयो । प्रचण्ड-माधव पक्षका नेताहरुको ध्यान जम्माजम्मी कुर्सी र पदमा छ भन्नुहुँदै उहाँले भन्नुभयो, “सुन्तला खान सुन्तला बारीतिर नगएर सल्लाघारीतिर लागेर हुन्छ ? ” प्रचण्ड-पक्षले बाटो बिराएको उहाँले टिप्पणी गर्नुभयो ।

पार्टीभित्रबाटै समस्या खडा गरिँदा सरकारले चाहेकोजस्तो काम गर्न नसकेको उहाँले स्वीकार गर्नुभयो । तर अब दुईटा नटबोल्ट खुलिसकेकाले विकासको कामले गति लिने विश्वास दिलाउनुभयो । “तीन वर्षसम्म पार्टी कार्यकर्तालाई अलमल र असंगठितमा राख्ने काम भयो, पार्टी एकता त घोषणा गयौं तर एकता प्रक्रिया टुङ्गोमा पु-याउन दिइएन, तीन वर्ष खेर गयो” प्रधानमन्त्री ओलीले भन्नुभयो, “समस्या कहाँ रहेछ, जाम कहाँ रहेछ, खिया कहाँ लागेको रहेछ, दुईटा नटबोल्ट फेरिदा कामले गति लिएको छ ।”

हामी पार्टीको असली हौं भनेर निर्वाचन आयोगमा निवेदन हाल्नेहरुलाई म सोध्न चाहन्छु, “के यो बरमझियाको बुढाको असली पेंडा पसल हो र ” कुहेर खसेका दुई फलले रुखै मै हुँ भन्न मिल्दैन उहाँले टिप्पणी गर्नुभयो ।

सन् २०२१ ले नेपाली राष्ट्रियता, स्वाधिनता र स्वतन्त्रतालाई अझ मजबुत बनाउने चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस वर्षले समृद्ध नेपाल र सुखी नेपालीको नारा सार्थकतातिर गैसकेको हुनेछ, एउटा उल्लेख्य टर्निङ प्वाइन्टको रुपमा हामी यो वर्षभित्र पुगिसकेका हुनेछौं ।” हामी आफ्ना छोरा बुहारी, भाइ भतिजाका लागि लडिरहेका छैनौं, देश र जनताका लागि लडिरहेको उहाँले प्रष्ट पार्नुभयो ।

पार्टीबाट आजको मितिसम्म कुनै नेतालाई निष्काशन नगरिएको प्रष्ट पार्नुहुँदै अध्यक्ष ओलीले प्रचण्ड-माधव पक्षलाई गल्ती स्वीकार गरेर मुल पार्टीमा समाहित हुन आव्हान गर्नुभयो । सो पक्षको हालत अब रत्नपार्क वरिपरि सीसीमा तेल बेच्नेको हालत हुने चेतावनी दिनुभयो । त्यति मानिस त तेल बेच्नले पनि जम्मा गर्नसक्छ उहाँले भन्नुभयो । प्रचण्ड-माधवपक्षको एजेण्डा देश, जनता र लोकतन्त्र नभएको बताउनुभयो ।

“नयाँ नक्सा छाप्दा उहाँहरुलाई छटपटी हुन्छ, देशको विकास हुँदा अर्को छटपटी हुन्छ, त्यस्तोको एजेण्डा देशको समृद्धि कसरी हुन्छ रु” प्रधानमन्त्री ओलीले थप्नुभयो, “सरकारलाई काम गर्न दिइएन, भएको काम पनि प्रचारित गर्न दिइएन ।” धरहरा, रानीपोखरी, सडक सबै श्रमजीवी जनताले बनाउने हो, नेतृत्व मात्र अरुले गर्ने हो प्रधानमन्त्री ओलीले भन्नुभयो, “रानीपोखरी हामीले बनायौं, २२ तलाको धरहरा हामीले निर्माण ग¥यौं, सडक पुल हामीले बनायौं, डकर्मीले होइन ।” गरेको कामको जस पनि दिन नसक्ने प्रबृत्ति नेताहरुमा देखिएको उहाँले बताउनुभयो ।

“ढुङ्गो बोल्ला तर उहाँहरु बोल्नुहुन्न, किनकि बोल्दा त्यसको जस ओलीलाई जान्छ भन्ने डर छ” प्रधानमन्त्री ओलीले थप्नुभयो, “कोभिड १९ लाई यसैवर्ष नियन्त्रण गरेर बाँकी विकास निर्माणको काम अघि बढाउनेछौं ।” कसैले नचाहँदैमा विकास निर्माण र समृद्धिको अभियान नरोकिने उहाँले प्रष्ट पार्नुभयो । विकास निर्माणको काम तीव्रगतिले अघि बढेकाले परिणाम आउनेक्रम जारी रहेको बताउनुभयो । अब झन गतिका साथ विना अड्चन सरकार र पार्टीले काम गर्ने उहाँले चर्चा गर्नुभयो ।

फुसको छाना हटाएर जस्ताको छाना लगाउने काम भएको, सडक चौडा र कालोपत्रेले गति लिएको भन्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “अस्तव्यस्त सिर्जना गर्ने, मुख छाडेर गाली गर्ने प्रबृत्ति उहाँहरुमा देखियो, मलाई नाङ्गो गोरु देखेर लाज लौग्दैन ।” उहाँहरुले जति बाधा अडचन गरे पनि विकासको काम अब नरोकिने प्रष्ट पार्नुभयो ।

बाध्यात्मक अवस्थामा प्रतिनिधिसभा विघटन गरिएको बताउनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “देश चुनावतिर गइसक्यो, अब संसद पुनःस्थापना हुँदैन ।” ताजा जनादेशबाटै अब नयाँ प्रतिनिधिसभा गठन हुने बताउनुभयो । “दुईटा अङ्क भएको सिट ल्याएर देखाउनुस्” प्रधानमन्त्री ओलीले भन्नुभयो, “फर्किनुस् तर उपद्रव मच्चाउन पाइँदैन, थन्कोमा राखिनेछ ।” व्यक्ति फर्किदा स्वागत गर्छौं तर गुटबन्दी र तपाईहरुको प्रबृत्ति फर्किन दिइने छैन अध्यक्ष ओलीले प्रष्ट पार्नुभयो ।

“को कताबाट, कहाँबाट निष्काशन हुन्छ आगामी वैशाख १७ र २७ गते कुरौं” प्रधानमन्त्री ओलीले भन्नुभयो, “देशलाई गलत प्रचार र अलमलमा पर्न दिइनु हुँदैन, युवाहरु अब सक्रिय हुनुपर्छ ।” पार्टीमा अराजकता, अनुशासनहीनता ल्याउने काम प्रचण्ड-माधव पक्षले गरेको टिप्पणी गर्नुभयो ।

“हामीले प्रतिगमन रोक्ने काम ग¥यौं, स्टेरिङ सोझ्याएका मात्र हौं, अरु केही होइन ।” पार्टीको एकता भाँड्ने, दुई तिहाईको सरकार ढाल्ने गलत बाटोमा उहाँहरु तीन वर्षसम्म प्रयास गरेको प्रधानमन्त्री ओलीले आरोप लगाउनुभयो ।

नेपालको लोकतान्त्रिक आन्दोलन हाँक्न स्पष्ट गन्तव्य, त्यहाँ पुग्न सही नीति, बाटा, कार्यक्रम र योजना भएको पार्टीको आवश्यकता भएको बताउनुहुँदै अध्यक्ष ओलीले सो पार्टी नेकपा मात्रै भएको चर्चा गर्नुभयो । आगामी निर्वाचनबाट जनताले नेकपालाई भारी मतले समर्थन गर्ने उहाँले विश्वास दिलाउनुभयो ।

प्रचण्ड-माधव पक्षले आधिकारिक पार्टी आफू भएको दावी गरे पनि त्यो कल्पना मात्र भएको अध्यक्ष ओलीले बताउनुभयो । संस्थापन पक्ष नै आधिकारिक पार्टी र चुनाव चिन्ह ‘सूर्य’ रहने उहाँले प्रष्ट पार्नुभयो । कार्यकर्ता पङितलाई भ्रममा नपर्न उहाँले आग्रह गर्नुभयो । अदालतले सही र गलत राम्रोसँग चिन्ने विश्वास व्यक्त गर्नुहुँदै उहाँले थप्नुभयो, “हाम्रो अदालत सही गलत चिन्न सक्षम छ, निर्वाचन आयोगले पनि असली नक्कली चिन्छ ।” गोरखापत्र

Facebook Comments