Mon. Apr 29th, 2024

आहा ! सुन्दरीजलमा पनि माछा ?

काठमाडौं, २०७७ पुस १७ गते शुक्रबार

अबको कही हप्तापछि नै सुन्दीजलमा माछाका भुराहरु नाचेको रमाईलो दृश्य देख्न पाईने भएको छ ।

वाग्मती सफाइ महाअभियानको ४०० औँ हप्ताको कार्यक्रम उपत्यकाका सात स्थानमा जनचेतनामूलक अभियानसहित विशेष कार्यक्रम गरी मनाइने भएको छ । सफाइको ४०० औँ हप्ताको नारा र स्टिकर भने तयारीका लागि छलफल जारी छ । यसै हप्ताभित्र त्यसको निर्णय भइसक्ने जनाइएको छ । सार्वजनिक र निजी यातायातमा सफाइसम्बन्धी चेतना जागृत हुने किसिमका स्टिकर र परिचय पुस्तिका समेत वितरण गर्ने महाअभियानको तयारी छ ।

सफाइ महाअभियानको हिजो बुधवारको बैठकले साँगा भञ्ज्याङ, नागढुँगा, नयाँ बसपार्क, त्रिभुवन विश्वविद्यालय प्रवेशढोका, बालाजु बाइपास, नारायणगोपाल चोक, मीनभवनमा जनचेतनामूलक अभियानसहित सफाइ गर्ने निर्णय गरेको छ ।

महाअभियानले यसअघि नै थापाथली र त्रिपुरेश्वर क्षेत्रको सफाइको जिम्मेवारी महानगरपालिका ११ नं. वडालाई दिइसकेको छ । त्यसैगरी अन्यत्र पनि जिम्मेवारी दिइने जनाइएको छ । बैठकमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अधिकारीहरुले विभिन्न स्थानमा बिच्छ्याएको ढल टालिएकाले नदीमै फोहर पानी आउन थालेको गुनासो गरेका जनाइएको छ ।

सफाइ महाअभियानको ४०० औँ हप्ताको अवसर पारेर अधिकार सम्पन्न वाग्मतीले नदीको शिरोभाग सुन्दरीजल क्षेत्रमा माछाका भुरा छोड्ने तयारी समेत गरेको सो अवसरमा जानकारी दिइएको थियो ।

जनचेतनामूलक सफाइ अभियानपछि दिउँसो मीनभवनमा ४०० औँ हप्ताको मुख्य कार्यक्रम गरिने अभियानकर्मी गोविन्द काफ्लेले जानकारी दिनु भएको छ । जनचेतनामूलक कार्यक्रमका लागि संयोजकसमेत तोक्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले अभियानकर्मीहरु नरेश रञ्जित, ताराबहादुर कुँवर, लोकबहादुर टण्डन, रामकुमार श्रेष्ठ, चित्रबहादुर सुनुवार र शोभाकान्त पाण्डेलाई संयोजन गर्ने जिम्मेवारी दिएको छ । मीनभवनमा भने मूल कार्यक्रम गर्न लागिएकाले त्यहाँको नेतृत्व महाअभियानले नै गर्ने जनाइएको छ ।

विसं २०७० जेठ ५ गते तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा शुरुवात भएको सफाइ महाअभियान आगामी पुस २५ गते शनिवार ४०० औँ हप्तामा प्रवेश गर्दैछ । बैठकमा चीनका लागि पूर्व नेपाली राजदूत समेत रही सक्नुभएका पौडेलले स्थानीय तहलाई सफाइमा जिम्मेवार बनाउनुपर्नेमा जोडदिनु भएको छ ।

Facebook Comments