Sun. Apr 28th, 2024

चिनियाँ प्रतिनिधिमण्डलको नेपाल भ्रमण कुनै हस्तक्षेपको लागि होईन: चिनिया विदेश मन्त्रालय

Zhao Lijian.

काठमाडौं, २०७७ पुस १४ गते मंगलबार

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री क्वो ए चौ नेतृत्वको चार सदस्यीय प्रतिनिधिमण्डलको नेपाल भ्रमण कुनै पनि किसिमको हस्तक्षेपको लागि नभएको चीनको विदेश मन्त्रालयले प्रस्ट पारेको छ ।

विदेश मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार भेटघाटमा विदेश मन्त्रालयका प्रवक्ता चाओ ली च्यानले आपसी राजनीतिक विश्वास बढाउन र आपसी मित्रतालाई मजबुत बनाउनका लागि उपमन्त्री क्वो ए चौको भ्रमण केन्द्रित भएको तर कुनै हस्तक्षेपका लागि नभएको स्पष्ट पार्नु भएको छ ।

प्रवक्ता चाओ ली च्यानले भन्नुभयो, ‘चिनियाँ कम्युनिष्ट पार्टीले अर्काको स्वतन्त्रता, समानता, आपसी सम्मान र कसैको आन्तरिक मामिलामा हस्तक्षेपको सिद्धान्त अपनाउँदैन ।’

चीनको राजधानी पैचिंगस्थित प्रेस ट्रष्ट अफ इन्डियाका पत्रकारले सीपीसी केन्द्रिय समिति अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सहितको नेपाल भ्रमणको उद्देश्य के हो भनेर जिज्ञासा राख्दा प्रवक्ता चाओले राजनीतिक विश्वास तथा व्यवहारिक सहयोग प्रवर्द्धन गर्नु र दुई देशबीचको परम्परागत मित्रतालाई मजबुत बनाउनु नै भ्रमणको लक्ष्य रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘आपसी साझा चासोका सवालहरू महामारी रोकथाम तथा नियन्त्रण, सुशासन र सहकार्य तथा विकास जस्ता विषयमा विचार आदानप्रदान गर्नका लागि चिनियाँ टोलीले नेपालको भ्रमण गरेको हो ।’

चीन र नेपाल असल छिमेकी, सच्चा साथी र राम्रा साझेदार भएको बताउँदै उहाँले चिनियाँ कम्युनिष्ट पार्टीले नेपालका मुख्य पार्टीहरूसँग घनिष्टता कायम राखेर मैत्रीपूर्ण आदानप्रदान गरिरहेको बताउनु भयो । उहाँले यो सम्बन्धले आपसी राजनीतिक विश्वास बढाउन, सरकार सरकारबीचको मित्रतालाई गहन पार्न, सरकारहरूबीच व्यावहारिक सहयोग प्रवर्द्धन गर्न र दुई देशबीचको परम्परागत मित्रतालाई मजबुत बनाउन सघाएको पनि जानकारी गराउनु भयो ।

नेपालको सबैभन्दा ठूलो सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा उत्पन्न संघर्षका कारण संसद विघटन भई राजनीतिक संकट उत्पन्न भएका बेला चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री क्वो ए चौ लगायतको प्रतिनिधिमण्डल आईतबार नेपाल आएको हो ।

http://np.china-embassy.org/eng/fyrth/t1843027.htm

Facebook Comments