Fri. Apr 26th, 2024

बेलायतबाट फर्किएका एक सय ९३ निगरानीमा, पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि

Ministry-of-Health

काठमाडौं, २०७७ पुस १३ गते सोमबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को नयाँ प्रजाति (भेरियन्ट)को उद्गमस्थल बेलायतबाट आएका एक सय ९३ जनालाई निगरानीमा राखेको छ । ती मध्ये पाँचजनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले निगरानीमा राखिएकालाई ज्वरो र रुघा लागेको लक्षण देखिए पिसिआर परीक्षण गरेर उपचार गरिने जानकारी दिनुभयो । महाशाखाले आज मात्र तीमध्ये १२ जनाको पिसिआर परीक्षण गरेको छ । मन्त्रालयले यसअघि नै सूचना जारी गरी यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत अथवा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबैका अनिवार्यरुपमा १० दिन होटल क्वारेन्टिनमा बस्न अनुरोध गरेको थियो ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी कोभिड-१९ को विकसित रुप नै नयाँ प्रजातिको भाइरस रहेको बताउनुभयो । “ भाइरस परिवर्तन हुन्छन् । त्यस्तै कोभिड-१९ भाइरस परिवर्तन भएर नयाँ भाइरस बनेको हो”, उहाँले भन्नुभयो, “कोभिड-१९ जस्तै यसको लक्षण हुन्छ । यसको सर्ने क्षमता भने अलि बढी नै छ । थप अध्ययन हुन बाँकी छ ।”उहाँले कोभिड-१९ जस्तै यसले पनि फोक्सोमा असर गर्ने बताउनुभयो । उहाँले बेलायत, अमेरिका र अफ्रिकाबाट आएका मानिसको पिसिआर परीक्षण र क्वारेन्टिनमा राखिएको जानकारी दिनुभयो ।

गोरखापत्र अनलाईनका अनुसार महाशाखाका निर्देशक डा पाण्डेले पिसिआर परीक्षणबाट नै नयाँ प्रजातिको भाइरस पत्ता लगाउन समस्या भइरहेकाले पुनःपरीक्षणका लागि बाहिर पठाउने तयारी पनि भइरहेको जानकारी दिनुभयो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले नयाँ प्रजातिको भाइरसका बिरामी कोभिड-१९ जस्तै रहेको र यसले सङ्क्रमण सार्ने दर बढिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार ती सङ्क्रमितको उपचार पनि कोभिड-१९ का बिरामी जस्तै गरिन्छ

Facebook Comments