Sat. Apr 27th, 2024

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूद्वारा राष्ट्रपतिसँग भेटवार्ता

काठमाडौं, २०७७ पुस १३ गते सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूले आइतबार राष्ट्रपति भवन शितलनिवासमा औपचारिक भेटवार्ता गरेको छ ।

महासंघका पदाधिकारीहरूसँगको भेटमा राष्टपति विद्यादेवी भण्डारीले महासंघको वर्तमान नेतृत्वले उद्योग व्यवसायको विकास मार्फत रोजगारी सिजना, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा पहल कदमी लिन लाग्न सुझाव दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हामीसंग पर्याप्त सम्भाव्यता भएर पनि नेपाल पछि परेको उल्लेख गर्दै रोजगारीका लागि बाध्य भएर बाहिर जानुपर्ने परिस्थितिलाई कसरी अन्त्य गर्न सकिन्छ त्यसका लागि निजी क्षेत्रको नेतृत्व गम्भीर भएर लाग्न आवश्यक भएको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले चुलिदो व्यापार घाटाप्रति चिन्ता व्यक्त गर्दै हरेक कुरामा विदेशसँग निर्भर रहनुपर्ने अवस्थालाई परिर्वतन गर्ने गरी आफना लागि आवश्यक वस्तु आफै उत्पादन गर्ने तर्फ सिंगो मुलुक नै गम्भीर हुन पर्नेमा जोड दिनुभयो ।

स्वदेशी लगानी आकर्षण राज्यको प्रमुख प्राथमिकता हुनुपर्ने, त्यसो हुन नसकेमा मात्र बाह्य लगानी समेत आकर्षित गरी कृषि, उर्जा, पर्यटन क्षेत्रको विकास मार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार र निजी क्षेत्रको सहकार्यमा राष्ट्रपतिले भण्डारीले जोड दिनुभयो ।

भेटमा महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रपति समक्ष महासंघको नयां नेतृत्वले निजी क्षेत्र र समुन्नत मुलुक निर्माणका लागि विशेष लक्ष्यसहितको भिजन पेपर तयारीमा महासंघ लागेको जानकारी गराएको थियो ।

त्यस अवसरमा महासंघका अध्यक्ष गोल्छाले साना तथा मझौला उद्यमलाई कोभिडको प्रभावबाट वाहिर ल्याउन सवैभन्दा बढी सहयोग आवश्यक हुने भन्दै यसका लागि कोभिड पुनरूत्थान विशेष कार्यक्रम आवश्यक भएकोमा जोड दिनुभयो ।

महासंघका अध्यक्ष गोल्छाले वार्षिक ४ लाख युवाका लागि रोजगारी सिजना गर्ने र दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्यसहित महासंघले भिजन पेपर ल्याउने तयारीमा रहेको पनि उल्लेख गर्नुभयो ।

रेडियो नेपालका अनुसार भेटवार्तामा महासंघका पदाधिकारीहरूले अहिलेको संकटको अवस्थामा तुलनात्मक लाभका क्षेत्रहरू जस्तो कृषि, पर्यटन, पूर्वाधार निर्माण, उर्जा लगायतका क्षेत्रसँग जोडिएका राष्ट्रिय गौरवका आयोजनाहरू छिटो सम्पन्न गर्न पहल हुनुपर्ने, मुलुकभित्र उपलव्ध प्राकृतिक स्रोत साधनको समुचित विकास मार्फत आर्थिक विकास, रोजगारी सृजनामा सरकारको ध्यान जानुपर्ने, संस्थागत सोच अनुरुप विकासका कार्यक्रम अगाडी बढाइनुपर्ने, लगानी सुरक्षा र नीतिगत स्थायित्व लगायतका विषयमा जोड दिनुभएको नेपाल उद्योग बाणिज्य महासंघले जनाएको छ ।

Facebook Comments