Wed. May 1st, 2024

चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री क्वाे ए चाै आइतबार नेपाल आउने

काठमाडौं, २०७७ पुस ११ गते शनिबार

चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री क्वो ए चौ आइतबार नेपाल आउने हुनुभएको छ । नेकपा भित्र अशान्तिको कालो बादल मडारिरहेका बेला हुन लागेको उहाँको नेपाल भ्रमणलाई निकै चासोपूर्वक हेरिएको छ ।

पार्टी विभाजनको पीडामा रहेको नेकपालाई उहाँको भ्रमणले केही मल्हम लगाउने आंकलन गरिएको छ । नेपाल भ्रमणमा रहँदा उहाँले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), माधव नेपाललगायतका नेताहरुलाई भेट गर्ने कार्यक्रम रहेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपप्रमुख समेत रहनु भएका क्वोको आकस्मिक नेपाल भ्रमण नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले मिलाउनु भएको बताइएको छ । वरियतामा उहाँ विदेश विभागका प्रमुख सोङ थाओपछिका दोस्रो नेता हुनुहुन्छ ।

संसद विघटनपछि दुवै पक्षका नेताले एकले अर्कालाई सिध्याउने खेलमा लागिरहेका बेला राजदूत होउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली प्रचण्ड र माधव नेपाल, झलनाथ खनाल र पूर्वसभामुख कृष्णबहादुर महरालाई भेटेर उपमन्त्री क्वो नेपाल भ्रमणमा आउन लागेको जानकारी गराउनु भएको थियो। क्वो को नेतृत्वमा चार सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल काठमाडौँमा चार दिन बस्ने नेपाल समाज अनलाईनले समाचार लेखेको छ ।

Facebook Comments