Mon. May 25th, 2026

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न   

       

काठमाण्डू । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका आज देशैभरि प्रतिनिधि छनोट भएका छन् । महाधिवेशनका लागि आज देशभरि शान्तिपूर्ण रूपमा करिब दुई हजार २०० प्रतिनिधि छनोट भएका हुन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सबैजसो कमिटीमा आज प्रतिनिधि छनोट सम्पन्न भएको बताउनुभयो । “धेरैजसो कमिटीमा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भएका छन्”, उहाँले भन्नुभयो, “केही ठाउँमा निर्वाचनको माध्यमबाट प्रतिनिधि छनोट भएका छन् ।”

उहाँले छिटफुट रूपमा रोकिएको प्रतिनिधि छनोट प्रक्रिया पनि निर्वाचनबाट टुङ्ग्याउने निर्देशन दिएको बताउनुभयो । उहाँका अनुसार एक प्रतिनिधि निर्वाचन क्षेत्रबाट खुला, महिला र युवा गरी चार जना प्रतिनिधि छनोट हुनेछन् । आज छनोट भएका प्रतिनिधि विवरण यही मङ्सिर १५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्न एमालेले निर्देशन दिएको छ । राससका अनुसार एमालेले यही मङ्सिर २७ देखि २९ गतेसम्म भक्तपुरमा महाधिवेशन हुने जनाएको छ ।

Facebook Comments