Tue. May 19th, 2026

चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ केन्द्रीय समितिको चौथो पूर्ण बैठक सम्पन्न

       

काठमाण्डू । चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ केन्द्रीय समितिको चौथो पूर्ण बैठक चीनको राजधानी पैचिङमा सम्पन्न भएको छ । कात्तिक ३ गते सोमबारदेखि हिजो ६ गते बिहीबारसम्म सञ्चालन भएको सो बैठक चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय राजनीतिक व्युरोले अध्यक्षता गरेको थियो ।

सो बैठकलाई चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय समितिका महासचिव सी चिनफिङर्ले सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा महासचिव सी चिनफिङले पेस गर्नुभएको कार्य–प्रतिवेदनको सुनुवाई र त्यसबारे छलफल गर्दै चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले राष्ट्रिय आर्थिक तथा सामाजिक विकासको १५ औँ पञ्चवर्षीय योजनाको तर्जुमा गर्ने प्रस्तावको लेखाजोखा गरेपछि त्यसलाई पारित गरेको हो । महासचिव सी चिनफिङले त्यस प्रस्ताव मस्यौदाबारे पूर्ण बैठकसमक्ष ब्याख्या गर्नुभएको थियो ।

यसैबीच चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले आज बिहान २०औँ चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको चौथो पूर्ण सत्रको भावनाको परिचय र व्याख्या गर्न पत्रकार सम्मेलनको आयोजना गरेको थियो । केन्द्रीय नीति अनुसन्धान कार्यालयका निर्देशक च्याङ चिन छ्वानले पत्रकार सम्मेलनमा दिनुभएको जानकारी अनुसार पूर्ण सत्रको सबैभन्दा महत्त्वपूर्ण परिणाम “राष्ट्रिय आर्थिक तथा सामाजिक विकासका लागि १५ औँ पञ्चवर्षीय योजना तर्जुमा गर्ने सम्बन्धी चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रस्ताव“ को समीक्षा र अनुमोदन थियो भन्नुभयो । २०औँ चिनियाँ कम्युनिष्ट पार्टी राष्ट्रिय कांग्रेसले सन् २०३५ सम्ममा समाजवादी आधुनिकीकरण मूल रूपमा प्राप्त गर्ने लक्ष्य स्थापना गरेको छ ।

१५ औँ पञ्चवर्षीय योजना प्रस्ताव तयार गर्नु र यस अवधिमा आर्थिक तथा सामाजिक विकासको व्यवस्थित योजना बनाउनु २०औँ चिनियाँ कम्युनिष्ट पार्टी राष्ट्रिय कांग्रेसले उल्लिखित भव्य खाकालाई साकार पार्न र चरणबद्ध रूपमा चिनियाँ शैलीको आधुनिकीकरणलाई अगाडि बढाउन आवश्यक रहेको पनि च्याङ चिन छ्वानले स्पष्ट पार्नुभयो । जटिल र गम्भीर बाह्य वातावरणमा नयाँ परिवर्तनहरूलाई प्रभावकारी रूपमा प्रतिक्रिया दिन र कडा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको बीचमा रणनीतिक पहल प्राप्त गर्न आवश्यक रहेको च्याङ चिन छ्वानको भनाइ छ ।

सीसीटिभीका अनुसार यस चरणमा चीनको विकासको आवश्यकता अनुरूप अनुकूलन गर्न र उच्च–गुणस्तरको विकासलाई प्रवद्र्धन गर्न पनि आवश्यक रहेको च्याङ चिन छ्वानले जानकारी दिनुभयो ।

Facebook Comments