बढ्दो हिंसा नियन्त्रण गर्न पेरुका राष्ट्रपति जेरीद्वारा राजधानीमा आपतकाल घोषणा
पेरुका पूर्व कांग्रेस अध्यक्ष जोस जेरीले अक्टोबर १०, २०२५, शुक्रबार पेरुको लिमामा अन्तरिम राष्ट्रपतिको रूपमा शपथ लिएपछि राष्ट्रिय गान गाउँदै। (एपी फोटो/जोन रेयेस)
लिमा । पेरुमा बढ्दो हिंसा रोक्नका लागि राष्ट्रपति जोस जेरीले मङ्गलबार राजधानी लिमामा ३० दिनको आपतकालीन अवस्था घोषणा गर्नुभएको छ ।
यो कदम उहाँको सरकारले अपराध नियन्त्रणका लागि चालेको पछिल्लो प्रयास हो, जसले देशमा असन्तोष र विरोध प्रदर्शनलाई झनै तीव्र बनाएको छ । यही अस्थिरताले उहाँका पूर्ववर्ती राष्ट्रपति दिना बोलुआर्तेको पतनमा पनि महत्त्वपूर्ण भूमिका खेलेको थियो ।
हालका वर्षहरूमा पेरुमा हत्या, अपहरण, हिंसात्मक फिरौती र सार्वजनिक स्थलमा आक्रमणका घटनामा उल्लेखनीय वृद्धि भएको छ । प्रहरी तथ्याङ्कअनुसार सन् २०२४ को जनवरीदेखि सेप्टेम्बरसम्म एक हजार ५०२ वटा हत्या रिपोर्ट भएकामा यस वर्ष सोही अवधिमा एक हजार ६९० हत्या दर्ता भएको छ, जुन चिन्ताजनक वृद्धिदर हो ।
पूर्व राष्ट्रपति बोलुआर्तेलाई गत अक्टोबर १० मा पेरुको संसद्ले महाभियोग प्रक्रियामार्फत पदच्युत गरेको थियो । सांसदहरूले उहाँले बढ्दो अपराध नियन्त्रण गर्न असफल भएको आरोप लगाएका थिए । त्यसपछि तत्कालीन संसद्का सभामुख जोस जेरीले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुभएको हो ।
राष्ट्रपति जेरीले टेलिभिजनबाट सम्बोधन गर्दै लिमामा ३० दिनका लागि आपतकाल लागू गरिने जानकारी दिनुभयो । उहाँले सुरक्षा बललाई सशक्त बनाउने, अपराध नियन्त्रणका लागि सैनिक परिचालन गर्ने र भेला तथा आवागमनका स्वतन्त्रतामा अस्थायी प्रतिबन्ध लगाउने तयारी भइरहेको बताउनुभयो । सो सम्बोधनपछि सरकारले आपतकालसम्बन्धी औपचारिक आदेश प्रकाशित गरेको छ ।
“युद्ध शब्दले होइन, कार्यले जितिन्छ”, राष्ट्रपतिले सम्बोधनमा भन्नुभयो । उहाँले अपराधसँग लड्ने नयाँ रणनीति तयार भइरहेको उल्लेख गर्दै त्यसलाई ‘रक्षाबाट आक्रमणतर्फको रूपान्तरण’ भनेर परिभाषित गर्नुभयो ।
पेरुमा पछिल्ला महिनाहरूमा जेन जेड कार्यकर्ताहरूको नेतृत्वमा भ्रष्टाचार र हिंसाविरुद्ध ठूला प्रदर्शनहरू भइरहेका छन् । नयाँ राष्ट्रपतिको राजीनामाको माग गर्दै प्रदर्शनकारीहरूले गत बिहीबार लिमामा विशाल जुलुस निकालेका थिए । प्रदर्शन हिंसात्मक बन्दै जाँदा एक सर्वसाधारणको मृत्यु भएको र प्रहरी अधिकारी तथा पत्रकारसहित करिब सय जना घाइते भएका थिए ।
त्यही दिन राष्ट्रपति जेरीले आफूले राजीनामा नदिने स्पष्ट वक्तव्य दिनुभएको थियो ।
यसअघि पूर्व राष्ट्रपति बोलुआर्तेले गत मार्च महिनामा पनि ३० दिनको आपतकाल घोषणा गर्नुभएको थियो, तर सो कदमले अपराध दरमा कुनै उल्लेखनीय सुधार ल्याउन सकेको थिएन । एपी

