Sat. Jul 27th, 2024

पेरिसडाँडामा प्रचण्ड-नेपाल पक्षको भेलाको निर्णय : अध्यादेश फिर्ता नलिए कडा कदम

काठमाडौं, २०७७ पुस ३ गते शुक्रबार

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधव नेपाल पक्षले पेरिसडाँडामा आयोजना गरेको भेला  प्रधानमन्त्रीले तत्काल अध्यादेश फिर्ता नलिए कठोर कदम चाल्‍ने निश्कर्षसहित सम्पन्न भएको छ।

अध्यादेश फिर्ता गर्ने सहमति शीर्ष तहमा भएर स्थायी समितिबाट निर्णय र निर्देशन समेत भइसकेको अवस्थामा पनि प्रधानमन्‍त्रीले आलटाल गर्नुले गलत सन्देश दिएको उल्लेख गर्दै भेलाले अध्यादेश फिर्ता लिनुको विकल्प निकालेको छ। भेलामा प्रचण्ड, माधव तथा पूर्वअध्यक्ष झलनाथ खनालगायतका नेताहरू सहभागी हुनुुहुन्थ्यो। भेलामा प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवहरुको पनि सहभागिता थियो।

भेलालाई प्रचण्ड र माधव लगायतका नेताहरूले सम्बोधन गर्दै पार्टीभित्र चर्केको द्वन्द्व र यसको निकासबारे बोल्नु भएको थियो । अन्नपूर्ण पोष्टका अनुसार नेताहरूले ओली जबरजस्ती पेलेर अघि बढ्ने रणनीतिमा रहेकोले पार्टीले बेलामै नियन्‍त्रण नगरे दुर्घटना हुनसक्‍ने चिन्तासमेत व्यक्त गर्नुभएको थियो । नेताहरुले अध्यादेश फिर्ता नभए विशेष अधिवेशनको माग फेरि ब्यूँतिने र संसदबाटै निकास खोजिनुपर्ने बताएका थिए।

बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिने र संसदको विशेष अधिवेशन बोलाउन गरिएको सांसदहरूको हस्ताक्षर फिर्ता लिने निर्णय भएको थियो। त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच यसबारेमा सहमति भएको थियो। तर बिहीबार बेलुका बोलाइएको मन्त्रिपरिषद्को बैठकमा यसबारेमा कुनै छलफल नभएपछि प्रचण्ड नेपाल समूह झस्किएको छ। मन्‍त्रिपरिषद्को अर्को बैठक कहिले बस्‍ने भन्‍ने टुंगो छैन।

Facebook Comments