Mon. May 6th, 2024

राष्ट्रपति भण्डारीद्वारा संवैधानिक परिषदसम्‍बन्धी अध्यादेश जारी, सभामुखबिनै बैठक बस्न बाटो खुल्यो

काठमाडौं, २०७७ मंसिर ३० गते मंगलबार

सरकारले बहुमत सदस्यको उपस्थितिमै संवैधानिक परिषदको बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको छ ।

मंगलबार सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिका कारण परिषद बैठक स्थगित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाउनु भएको थियो ।

राष्ट्रपति कार्यालयका अनुसार बैठक लगतै संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनको दफा ६ को उपदफा ३ लाई संशोधन गर्ने गरी   विद्यादेवी भण्डारीले अध्यादेश  जारी गर्नुभएको छ ।

जबकी मन्त्रिपरिषद् बैठकमा यो अध्यादेशबारे कुनै छलफल नै नभएको एक मन्त्रीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

अध्यादेश जारी भएपछि संवैधानिक परिषदका बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्नेछ । यसअघि परिषद अध्यक्ष र ४ जना सदस्य उपस्थित भएमात्र बैठकका लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था थियो ।

परिषदका सदस्यमध्ये हाल उपसभामुख पद रिक्त छ । यो अवस्थामा बाँकी सबै सदस्य उपस्थित भएमात्र बैठकका लागि गणपूरक संख्या पुग्ने थियो ।

Facebook Comments