Thu. Apr 30th, 2026

सार्वजनिकस्थलमा पिङ हराउँदै गएकामा पाका पुस्ताको चिन्ता   

       

मध्यविन्दु (नवलपरासी) ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–८ का सुवास खत्रीलाई पिङ खेल्न मन भए पनि पिङ नपाएर खेल्न नपाएको पाँच वर्ष भयो । दसैँ–तिहारमा लिङ्गे पिङ खेल्न चाहना पाँच वर्षदेखि अधुरै रहेको खत्रीले बताउनुभयो । “विगतमा बाटोघाटोमा पिङ भेटिने भएकाले खेल्ने गरिन्थ्यो तर अहिले कतै पिङ देख्न नपाएकाले खेल्न पाएको छैन”, उहाँले भन्नुभयो, “केही युवापुस्ता पिङभन्दा पनि आधुनिक मनोरञ्जनका साधनमा झुम्मिन थालेकाले पिङको महत्व एवं आवश्यकता घट्दै गएको देखिन्छ ।”

नयाँ पुस्ता दसैँमा पिङ खेल्नेभन्दा पनि साथीभाइ एकै ठाउँमा जम्मा भएर रमाइलो गर्ने, नयाँ ठाउँ घुम्न जाने, तास खेल्ने भएकाले पिङको महत्व हराउँदै गएको स्थानीय ओमप्रकाश बस्यालले बताउनुभयो । “जिल्लामा विगत केही वर्षदेखि पिङ खेल्ने परम्परा घट्दै गएको र केही स्थानमा मात्र सीमित बन्न पुगेको छ”, उहाँले भन्नुभयो ।

दसैँको बेलामा आकर्षणका रूपमा खेलिने लिङ्गे पिङ नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पछिल्लो वर्षहरूमा हराउँदै जान थालेको छ । एक दशक अघिसम्म दसैँ लागेसँगै चोक–चोक र टोल–टोलमा देखिने यस्ता पिङ पछिल्ला वर्षहरूमा हराउँदै जान थालेका हुन् ।

दसैँ आयो भन्ने बित्तिकै जसको पनि मनमा पिङ खेल्ने चाहना हुने गर्दथ्यो तर अहिले चाहेर पनि पिङ खेल्न नपाइएको कावासोती नगरपालिका–१७ की विन्दु तिवारीले बताउनुभयो । दसैँ आगमनको सुरुआतसँगै खेलिने पिङ यस वर्ष नगण्य रुपमा मात्र केही स्थानमा देख्न पाइन्छ । “दसैँमा लिङ्गे पिङले दिने रौनक हराउँदै गएको छ”, उहाँले भन्नुभयो, “विशेषगरी रूखमा डोरी बाँधेर या बाँस गाडेर चोक र टोलमा हालिने यस्ता पिङ नयाँ पुस्ताका लागि अब एकादेशको कथा बन्दै जान थालेको छ ।”

जिल्लामा सयौँको सङ्ख्यामा देखिने यस्ता लिङ्गे पिङहरू सहरी क्षेत्रमा देखिएका छैनन् भने ग्रामीण क्षेत्रमा एकाध ठाउँमा मात्रै देखिएका छन् । बस्ती बाक्लिँदै गएकाले पिङ हाल्ने ठाउँको अभाव हुनु र पिङका लागि आवश्यक लठारो अर्थात् बाबियाँको डोरीको समेत अभाव भएकाले पिङको सङ्ख्या कम हुँदै गएको कावासोती नगरपालिका–६ का ७५ वर्षीय प्रेम थापाले बताउनुभयो । दसैँको बेलामा प्रत्येक व्यक्तिले एक पटक जमिनबाट पाउ हटाउनै पर्ने मान्यताअनुसार परम्परादेखि नै पिङ खेल्ने गरिए पनि केही वर्षयता यस्ता पिङ देख्न पनि मुस्किल भएको उहाँको भनाइ छ ।

“वर्षको एकपटक जमिनबाट पाउ हटाउँदा पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक मान्यताअनुसार पिङ खेल्ने गरिए पनि पहिलाको जस्तो पिङ खेल्ने, दसैँमा रमाइलो गर्ने परम्परा हराउँदै गएको छ”, उहाँले भन्नुभयो । एकातिर बस्ती बाक्लिँदै जानु र अर्कोतर्फ मोबाइल इन्टरनेटको बढ्दो प्रयोगले पनि पिङ खेल्ने पुरानो परम्परा लोप हुँदै जान थालेको हो । दसैँ–तिहार झल्किने गरी गाउँ तथा टोलमा खेलिने लङ्गुर बुर्जा खेललाई कानुनी रुपमा अवैधानिक बनाएपछि यो खेल्ने परम्परा पनि लोप भएको छ ।

विशेषगरी पिङ खेल्ने परम्परा लोपोन्मुख अवस्थामा पुगेकाले अहिले सहरी क्षेत्रमा दसैँको वास्तविक रौनक हराउँदै जान थालेको छ । दसैँको परम्परागत रौनक हराउँदै गएर आधुनिक मनोरञ्जनका साधन थपिँदै जान थालेको र युवा पुस्तामा दसैँका नाममा तास र मदिराको कुलतको विकृति बढ्दै जानु चिन्ताको विषय बनेको पाकापुस्ताहरुको भनाइ छ । रासस

Facebook Comments