Wed. May 13th, 2026

इजरायली हवाई आक्रमणमा ३५ जना यमनी नागरिकको मृत्युः हुथी   

       

साना, यमन । उत्तरी यमनको हुथी नियन्त्रणमा रहेको क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको हुथी नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ। ब्ुधबार भएको आक्रमणमा परी १३१ जना घाइते भएको मन्त्रालयले बिहीबार पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार आक्रमणमा अधिकांश मृत्यु राजधानी सानामा भएको छ । त्यहाँ २८ जनाको मृत्यु भएको र ११३ जना घाइते भएका छन् । उत्तरी प्रान्त अल–जावफमा सात जनाको मृत्यु हुनुको साथै १८ जना घाइते भएका छन् । उद्धार टोलीले भग्नावशेषमा खोजी गरिरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने बताइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार सानामा भएको आक्रमणले रक्षा मन्त्रालय, हुथी सेनाका प्रवक्ता याह्या सारियाको कार्यालय, एक सैन्य शिविर र इन्धन भण्डारण स्थललाई लक्षित गरेको थियो।

अल–जावफमा हुथीद्वारा सञ्चालित अल–मसिरा टिभीले समाचारमा उल्लेख गरेअनुसार लक्ष्यहरूमा एक सरकारी भवन, एक बैङ्क र प्रान्तीय राजधानी अल–हज्ममा एक कार्यालय परेका थिए । आक्रमणस्थलबाट नजिकैका घरहरू र नागरिक सुविधाहरूमा पनि क्षति पुगेको बताइएको छ।

सारियाले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “सेप्टेम्बर २६ र अल–यमन पत्रिकासहित सञ्चार कार्यालयलाई क्षेप्यास्त्रको निशानाबनाइएको थिएन । उहाँले प्रतिशोधात्मक आक्रमण गर्ने बताउनुभयोे ।

प्रत्यक्षदर्शीका अनुसार प्रवक्ताको मुख्यालयको छेउमा रहेको मध्य सानामा रहेको राष्ट्रिय सङ्ग्रहालयमा आक्रमणबाट नराम्ररी क्षति पुगेको छ ।

सङ्ग्रहालय प्राधिकरणले युनेस्कोलाई भवन र यसका पुरातात्विक वस्तुहरूको संरक्षणमा सहयोग पुर्याउन हस्तक्षेप गर्न आग्रह गरेको छ।

हालैका हप्ताहरूमा यमनमा इजरायली आक्रमणहरू तीव्र भएका छन्। गत महिना सानामा भएको आक्रमणमा १२ जना वरिष्ठ हुथी नेताको मृत्यु भएको समूहले जनाएको छ ।  सिन्ह्वा

Facebook Comments